इटहरी । इटहरी उपमहानगरपालिकाले इटहरीका सहकारीहरुलाई फोर्स मर्जमा लाने तयारी गरेको छ ।
उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख बालकुमार पोख्रेलले इटहरीमा आवश्यकताभन्दा दोब्बर सहकारी रहेको भन्दै फोर्स मर्ज गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।
इटहरीमा शनिबार कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभामा बोल्दै उनले इटहरीमा ९७ वटा बचत तथा ऋण सहकारी रहेको जनाउँदै त्यसलाई ४० वटा आसपास झार्ने योजना रहेको बताए ।
‘प्रति पाँच हजार जनसंख्यालाई एउटा सहकारी भन्ने मान्यता छ,’ उनले भने, ‘त्यसअनुसार दुई लाख मानिस बस्ने इटहरीमा ४० वटा सहकारी भए पुग्छ ।’
उनका अनुसार पछिल्लो समय सहकारीमा बेथिती र विकृती देखिएकोले पनि मर्ज गर्नुपर्ने आवश्यकता देखिएको हो । मर्जका लागि लचिलो कार्यविधिसमेत ल्याएर प्रोत्साहन गर्ने र आफै मर्ज नहुनेहरुलाई फोर्स मर्ज गर्ने उनले बताए ।
उनले सहकारीसम्बन्धि ४ वटा ऐन, नीति, नियम र कार्यविधि कार्यपालिकाबाट पास भएर प्रमाणिकरण हुन बाँकी रहेको जानकारी दिए । उनले उपमहानगरपालिकाले यो वर्षलाई सहकारी अनुगमन वर्षका रुपमा समेत मनइरहेको जानकारी दिए ।
अनुगमनका क्रममा धेरै सहकारीमा समस्या देखिएको बताउँदै सहकारीसम्बन्धि गुनासाहरु धेरै आउन थालेकोले अनुगमनमा समय दिन नपाएको समेत बताए ।
उनले सहकारी सदस्यहरुलाई एकै प्रकृतिका एउटै मात्र सहकारीको सदस्य बन्न आग्रह गरे । साथै लेखा परिक्षकले पनि इमान्दारितापुर्वक लेखापरिक्षण गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै कृषि सहकारी सुनसरीका भोलाकाजी बस्नेतले सहकारी नीति नियम पालना नगरेकाले धेरै सहकारीहरुको अवस्था बिग्रेको बताए । यस्तै सहकारीहरुले अनावश्यक काममा खर्च गरेकोले पनि समस्या देखिएको बताए ।
‘स्टार होटलको जस्तो ३०–४० लाख खर्च गरेर कार्यालय डेकोरेसन गरेको छ, गार्ड राखेर चिट दिएर भेट्ने सिस्टम बनाएको छ,’ उनले भने, ‘त्यो सबै सेवाग्राहीको पैसा हो, त्यसरी अनावश्यक काममा खर्च गरेर सहकारी उँभो लाग्दैन ।’
साधारणसभामा बोल्दै आयोजक कल्पवृक्ष सहकारीका सचिव खड्गबहादुर बस्नेतले आफूहरुले वित्तीय अनुशासनमा रहेर गतिविधि गरिरहेको बताए । उनले बचतकर्ताहरुको रकमलाई दुरुपयोग हुनबाट जोगाउन कम खर्चमा कार्यालय सञ्चालन गरिरहेको र आफूहरुले बितेको एक वर्ष भत्तासमेत नलिएको जानकारी दिए ।
‘भाका नाघेका ऋण हाम्रो मुख्य समस्या हो, त्यो पनि हामी फिर्ता गराउने क्रममा छौं,’ उनले भने, ‘आजको आर्थिक संकटको समयमा पनि हामी संस्थाका बचतकर्ताहरुलाई नियमअनुसार सेवा दिन सकिरहेका छौं ।’