तस्करी नियन्त्रण गर्न पोल्ट्रीसम्बद्ध व्यवशायीहरुको माग

न्युजलय १९ पुस २०८०, बिहिबार ०८:१५ मा प्रकाशित

इटहरी । भारतीय कुखुराको तस्करीले नेपाली कुखुरापालक किसान तथा व्यवशायीहरु विस्थापित हुने अवस्थामा रहेको कुखुरापालक व्यवशायीहरुले गुनासो गरेका छन् । 

सुनसरीको इटहरीमा आयोजित ११ औं राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै व्यवशायीहरुले तस्करी रोक्न नसके अधिकांश व्यवशायीहरु विस्थापित हुने बताए । कार्यत्रममा बोल्दै व्यवशायी घनश्याम निरौलाले भारतबाट आयात नरोकुन्जेल नेपालमा पोल्ट्री व्यवशायको विकास नहुने बताए । उनले भेटनरी डाक्टरले गलत रिपोर्ट दिँदा भारतीय कुखुरा प्रदेश २ हुँदै भित्रिएको गुनासो गरे । 

यस्तै पोल्ट्री विज्ञ सागर तिम्सिनाले सीमापारी चोरी निकासी नरोके धेरै व्यवशायी विस्थापित हुने बताउँदै उनले पोल्ट्री व्यवशाय विकासको लागि एकीकृत नीति बनाउनुपर्नेमा जोड दिए । उनका अनुसार कुखुरा पालक, दाना उत्पादक, ह्याचरीदेखि फ्रेस हाउससम्म गरेर लाखौंलाई रोजगारी दिएको उद्योग भएकोले सरकार संवेदनशील हुनुपर्ने बताए । उनले मकै, भटमास खेतीदेखि कुखुरा बिक्रि वितरणसम्मको लागि व्यवशायीक चेन विकास गरेर अघि बढ्न सरकारलाई सुझाव दिए । 

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख तथा प्रमुख अतिथी कुमारसिंह खत्रीले पोल्ट्री व्यवशायीहरुको संख्या निरन्तर घट्दो रहेकोले सरकारको प्रभावकारी नीति आवश्यक हुने बताए । 

कार्यक्रमका सभापती निराजन श्रेष्ठले व्यवशायीक उन्नती र पोल्ट्री उद्योगको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

पोल्ट्री व्यवसायीहरुले पुस १७ गते पोल्ट्री दिवस मनाउदै आएका छन् ।