अवैध लागूऔषध सहित पक्राउको मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने प्रहरी नियन्त्रणमा

न्युजलय १६ असोज २०८०, मङ्गलबार ०९:२६ मा प्रकाशित

झापा । झापाको दमक बजारबाट ३८ वर्षीय शिव नारायण सिंहलाई प्रहरीले पक्राउ गरेको छ । 


मुद्दा मिलाई दिन्छु भन्दै १ लाख रूपैयाँ ठगी गरेको अभियोगमा दमक नगरपालिका–५ क्याम्पस मोड बस्ने सिंहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 


दमक नगरपालिका–२ बस्ने २७ वर्षीय तिलकराम खवासको कोठाबाट तिलकराम, दिपक साह र रेशम गौतमलाई अवैध लागूऔषध ब्राउनसुगरसहित गत असार २६ गते प्रहरीले पक्राउ गरेको थियो । 

उनीहरू उपर जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भइरहेको अवस्थामा दिपक साहको आफन्तलाई मुद्दा मिलाई दिन्छु भनि शिव नारायणले उक्त नगद ठगी गरेको भन्ने जानकारी गराउन साथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी ठगी मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको छ ।