काठमाडौं । रौतहटकी रुबीकुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानले अपराध स्वीकार गरेका छन्। पक्राउ पर्नुअघि नै उनले आत्मदाह प्रयास गर्दै भिडियोमार्फत घटनाबारे विवरण सार्वजनिक गरेका थिए।
गौर नगरपालिका–२ मा डेरा गरी बस्दै आएकी रुबीको शव सुटकेशमा राखिएको अवस्थामा गौर–९ गौर–सिरसिया सडकखण्डअन्तर्गत मुडवालबा मोड नजिक सडक किनारमा फेला परेको थियो। घटनापछि खोजतलासमा जुटेको जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले माधवनारायण नगरपालिका–६ बस्ने पासवानलाई पक्राउ गरेको हो।
पक्राउ हुनुअघि उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेका थिए। त्यसपछि आफ्नै शरीरमा आगो लगाएर जलेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएर अस्पताल भर्ना गर्यो।
भिडियोमा पासवानले रुबी आफ्नी प्रेमिका मात्र नभई कानुनी रूपमा श्रीमती भएको दाबी गरेका छन्। नेपाल र भारत दुवै ठाउँमा अदालती विवाह गरेको बताएका उनले रुबीकी आमाले सम्बन्ध छुट्याएको आरोप लगाएका छन्।
रुबीको हत्याअघि लामो वादविवाद भएको र दुबैजनाले बाँच्न नसक्ने अवस्था आएको दाबी समेत उनले भिडियोमा गरेका छन्। ‘म दोषी हुँ, तर भाग्दिनँ। जेलमा बस्न सक्दिनँ। म मर्छु,’ भन्दै उनले घटनाको जिम्मेवारी लिएका छन्।
पासवानले भिडियोमा रुबीकी आमा अत्यधिक हस्तक्षेप गर्ने र छोरीलाई निरन्तर धन–दौलत, गहना र अन्य पुरुषसँग तुलना गर्दै गाली गर्ने गरेको आरोप लगाएका छन्। उनले रुबीको दिदी पिंकी विवाहपछि सम्पन्न जीवन बिताउँदा आमाले त्यसलाई आधार बनाएर रुबीलाई गाली गर्ने गरेको बताएका छन्।
उनका अनुसार राजन महतो र ‘सरलु’ भन्ने राजु लगायतले रुबीलाई पैसा, गाडी र सम्पत्तिको लोभ देखाउँदै सम्बन्ध बनाउन दबाब दिने, देवरले नुहाउँदै गरेको बेला खिचेको भिडियोमार्फत ब्ल्याकमेल गर्ने अवस्थासम्म पुगेको थियो।
पासवानका अनुसार आफू र रुबीबीच विद्यालय समयदेखि प्रेम सम्बन्ध थियो र भारत र नेपाल दुवै अदालतमा विवाह गरेका थिए। तर आर्थिक अभाव र परिवारको विरोधका कारण उनीहरूलाई छुट्याइएको थियो। निरन्तर झगडा, गाली र सामाजिक दबाबका कारण दुबै जना मानसिक तनावमा परेका र अलग–अलग कोठामा बस्ने निर्णय समेत गरेको उनले उल्लेख गरेका छन्। आफूहरु अलग बस्नै नसकिने अवस्थामा रहेको बताउँदै बरु मलाई मार भनेर रुवीले भनेको बताएका छन् ।
उनले भनेका छन्,
सरी । म बाँच्न सक्दिनँ । म मर्छु । आज आगो लगाएर मर्छु । म त संसार छाडिदिन्छु ताकि इतिहासमा रहोस् कि प्रेम के हो, छुट्टिएपछि अवस्था के हुन्छ । त्यो टेम्पो चालकको गल्ती छैन । मैले नै झूट बोलेर ल्याएको थिएँ । ऊ भन्थ्यो, ‘केही गडबड त छैन ?’ म भन्थेँ, ‘केही छैन ।’ ऊ निर्दोष छ, उसलाई छोडिदिनुहोस् ।
सकेसम्म उसको आमा, राजन, राजुलाई बुझाइदिनुहोस् । आफ्नो पैसा, गाडी, बंगला आफैँसँग राख । जब त्यति नै सौख छ अरूलाई देखाउने, त दिनु न । धनी बनेको नाटक गर्छन् । न आफू बाँच्छन्, न अरूलाई बाँच्न दिन्छन् । तीन दिनदेखि मैले राम्रोसँग खाएको छैन । अलिकति–अलिकति खाएको छु । भोकै बस्छु । म दोषी हुँ । तर म भाग्दिनँ । जेलमा बस्न पनि सक्दिनँ । म मर्छु । मेरो प्राण त गइसकेको छ । ऊ त्यहाँ पर्खिरहेकी छे । भन्छे, ‘कब आउँछस् ?’ आज मेरो मन छ, त्यहाँ पुगेर भेटौँ । किनभने मेरो प्राण त्यहीँ छ ।
हाल प्रहरीले पासवानलाई उपचारसहित नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।