काठमाडौं । आज भाद्र शुक्ल तृतीया अर्थात् हिन्दू नेपाली महिलाको महान पर्व हरितालिका तिज, देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।
भाद्र शुक्ल द्वितीयामा दर खाएपछि औपचारिक रुपमा सुरु हुने तिज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तिज समापन हुन्छ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएकी थिइन्।
विवाहित महिलाले अटल शौभाग्यका लागि तिजमा व्रत बस्छन्। यस्तै अविवाहित युवती र युवकले असल वर र बधु प्राप्तिका लागि तिजमा व्रत बस्छन्।
तिजका दिन देशभरका शिवालयहरुमा व्रतालुको घुइँचो लाग्ने गर्छ। काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा पनि व्रतालुको घुइँचो लाग्छ।