काठमाडौँ । मलेसिया सरकारले अब केही समय विदेशी कामदार नलिने भएको छ।
नयाँ कामदार भर्नाका लागि आवेदन नलिने म्याद लम्ब्याउने निर्णय गरेको गृहमन्त्री दत्तुक सेरी सैफुद्दिनले बताएका छन।
मलेसियाले कुल श्रमशक्तिको १५ प्रतिशत मात्रै विदेशी कामदार राख्ने नीति लिएको हो। विदेशी कामदारका लागि तोकिएको कोटा पूरा हुन लागेकाले थप कामदार नलिने नीति अघि सारेको मलेसियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
मलेसियाले २०२३ मार्चदेखि नै विदेशी कामदारको भर्नामा रोक लगाएको हो। त्यहाँको मन्त्रालयले तोकेको अधिकतम सीमा डिसेम्बर ३१ सम्ममा पुग्ने अपेक्षा गरिएको छ।
मलेसिया नेपाली श्रमिकहरूको प्रमुख आकर्षक श्रम गन्तव्य हो। यो मुलुकमा श्रमिक जान नपाउँदा अबसरसँगै रेमिटेन्समा पनि असर पुग्ने व्यवसायीहरू बताउँछन्।
मलेसियाले नेपालसहित बंगलादेश, फिलिपिन्स लगायत विभिन्न मुलुकबाट आप्रवासी श्रमिक लैजाँदै आएको छ। मलेसिया जाने श्रमिकले कुनै पनि शुल्क तिर्नु नपर्ने गरी नेपाल र मलेसियाबीच २०७५ सालमा तत्कालीन श्रममन्त्री गोकर्ण विष्टको पालामा दुई पक्षीय सम्झौता भएकौ थियो।