काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन् ।
घुँडाको गम्भीर चोटको उपचारका लागि एन्फाबाट अपेक्षित सहयोग नपाएपछि उनले आम समर्थकहरूसँग आर्थिक सहयोगको अपिल गरेकी हुन्।
अस्ट्रेलियाको व्यावसायिक लिग ‘निन्जा ए–लिग’ खेल्ने क्रममा गत पुसको तेस्रो साता साम्बा घाइते भएकी थिइन्।
न्युजिल्यान्डको क्लब ‘वेलिङटन फोनिक्स’ बाट ब्रिसबेन रोअरविरुद्ध खेल्दा विपक्षी गोलकिपरसँग ठोक्किएर उनको दाहिने घुँडाको ‘एसिएल’ र ‘एमसिएल’ पूर्ण रूपमा च्यातिएको छ।
चोट लागेको सात साता बितिसक्दा पनि साम्बाको शल्यक्रिया हुन सकेको छैन। साम्बाले सोमबार सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै एन्फा नेतृत्वले सुरुमा सहयोगको आश्वासन दिएर प्रक्रिया अलमलमा पारेको र अन्त्यमा प्रशासनिक सहयोग गर्न नसकिने बताएको उल्लेख गरेकी छन्।
उनका अनुसार पटक–पटकको प्रयासपछि एन्फा अध्यक्षले ५ लाख रुपैयाँसम्म नगद सहयोग गर्ने तर अन्य प्रशासनिक वा कूटनीतिक पहल गर्न नसकिने जवाफ दिएका थिए।
साम्बाले आफ्नो शल्यक्रिया कतारको ‘अस्पेटार’ अस्पतालमा गराउन चाहेकी छन्। यसअघि पनि एन्फाकै पहलमा सोही अस्पतालमा गरिएको शल्यक्रिया र रिह्याब प्रभावकारी भएकाले उनी पुनः त्यहीँ जान चाहन्छिन्।
उनको हालको क्लब वेलिङटन फोनिक्सले बिमामार्फत आउने रकम निकासा गरिदिने र न्युजिल्यान्डमै उपचार गर्न तयार रहेको बताए पनि साम्बाले कतारको उपचार रोजेकी हुन्।
तर, बिमाको रकमले कतारमा शल्यक्रिया र ७–८ महिनाको रिह्याब खर्च धान्न नसक्ने उनले बताएकी छन्। साम्बाका अनुसार उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आकलन गरिएको छ।
एन्फाभित्र क्लबका लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा आफू निराश भएको साम्बाले बताएकी छन्। उनले आफूले इजरायल, फ्रान्स वा अस्ट्रेलिया जहाँ खेले पनि नेपालकै नाम राखेको र राष्ट्रको पहिचान बोकेको स्मरण गराएकी छन्।
‘आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिने आम समर्थकहरु नै हुनुहुन्छ,’ उनले लेखेकी छन्, ‘यो चोटले मलाई शारीरिक र मानसिक रूपमा थकाएको छ, तर मलाई विश्वास छ म फर्कनेछु। थाकेको हो, हारेको छैन।’
मैदान फर्कन कम्तीमा ९ देखि १२ महिना लाग्ने भएकाले उनले स्वदेश तथा विदेशमा रहेका समर्थकलाई आर्थिक सहयोगका लागि क्युआर कोड र अनलाइन लिंकमार्फत आग्रह गरेकी छन्।