विराटनगर । मोरङ कारागारका कैदीबन्दीको आन्दोलनपछि अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ‘गुण्डा नाइके’ अभिषेक गिरीलाई सप्तरी कारागारमा पठाइएको छ ।
काठमाडौंस्थित डिल्लीबजार कारागारबाट स्थानान्तरण गरी गिरीलाई मंगलबार बिहान ५ बजे विराटनगर कारागारमा ल्याइएको थियो ।
उनलाई साढे ३ वर्षअघि मोरङबाट काठमाडौंस्थित डिल्लीबजार कारागार स्थानान्तरण गरेको थियो । मोरङ कारागारमा रहँदा गिरीले कैदीबन्दीलाई कुटपिट गर्दै यातना दिएको घटना बाहिरिएपछि उनलाई काठमाडौंस्थित डिल्लीबजार कारागारमा स्थानान्तरण गरिएको थियो ।
कांग्रेस निकट रहेका गिरीलाई गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा मोरङ कारागार ल्याइएको स्रोतले जनाएको छ ।
गिरीलाई कारागारको प्राङ्गणमा सुरक्षा घेराभित्र दिउँसो ३ बजेसम्म राखिएको कारागारका जेलर रामप्रसाद पोखरेलले बताए ।
गिरीलाई कारागारभित्र पठाउने वातावरण नभएकाले मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) काशीराज दाहाल र कारागार विभागसँग समन्वय गरेर शुरूमा झापा कारागार पठाउन खोजे पनि नमानेपछि सप्तरी कारागार पठाइएको पोखरेलले बताए ।