आज भाइटिकाको साइत र टिका लगाउने तरिका यस्तो छ (भिडियोसमेत)

न्युजलय ७ कार्तिक २०८२, बिहिबार ०१:१० मा प्रकाशित

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। दिदीबहिनीले दाजुभाइलाई पञ्चरंगी टीका लगाई दीर्घायु र समृद्धिको कामना गर्दै माला र मिठाइ प्रदान गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा र उपहार दिएर सम्मान जनाउँछन्।


नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ। तर दिनभर टीका लगाउन कुनै बाधा नपर्ने जनाइएको छ।


समितिका अनुसार टीका लगाउँदा दिदीबहिनी पूर्व र दाजुभाइ पश्चिम फर्कनुपर्ने परम्परा छ, जसले शुभ फल प्रदान गर्ने विश्वास राखिन्छ।


शास्त्रअनुसार तिहारको टीका पाँच रंग — रातो, सेतो, पहेंलो, हरियो र नीलो — को प्रयोग गरी लगाउनुपर्ने मान्यता छ। टीकापछि दाजुभाइलाई ओखर, मसला, सेलरोटी लगायतका परिकार दिइने र बदला स्वरूप दाजुभाइले सौभाग्यका प्रतीक उपहार र दक्षिणा दिने परम्परा रहिआएको छ।


भाइटिकाको विधान र तरिकाबारे यो भिडियोमा हेर्नुहोस्