इटहरी । आफूलाई उपेक्षा गरिएको भन्दै पुर्व सांसद रेवती भण्डारी अघिल्लो संसदीय निर्वाचनताका प्रदेश इन्चार्ज भीम आचार्यसँग असन्तुष्ट भए । त्यसयता दुवैबिचको चिसिएको सम्बन्धका बिचमा अर्का नेता थिए, आचार्य निकट धर्म निरौला ।
एमाले केन्द्रिय सदस्य, सुनसरी जिल्ला इन्चार्ज तथा पुर्व सांसद धर्म निरौला र भण्डारी एक अर्काको कार्यक्रममा सहभागि हुनै छाडेका थिए । तर सोमबार इटहरीमा भएको एमाले इटहरीको कार्यक्रममा भने दुवै एउटै मन्चमा देखिए ।
प्रथम नगर अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई सपथग्रहण गराउने उक्त कार्यक्रमका प्रमुख अतिथीको रुपमा रहेका निरौलाले भण्डारीसँग एउटै मन्च मात्र साटेनन्, बरु सम्बोधन गर्दा जिल्ला अध्यक्ष भनेर सम्बोधन नै गरे ।
एमाले सुनसरी अध्यक्ष रेवती भण्डारी वा रमेश बस्नेत मध्ये को हो भन्ने विवाद केही अघि निकै माथि सतहमा आएको र दुवैले आफूलाई जिल्ला अध्यक्षको हैसियतमा विज्ञप्तीबाजी पनि गरिसकेको पृष्ठभूमीमा दुवै विपरीत अडान राख्ने नेताहरु मिलेको देखिएको हो । यसबाट सुनसरी जिल्ला अध्यक्षको विवाद समाधान भएको समेत टिप्पणी गरिएको छ ।
निरौला भण्डारीका कतिसम्म आलोचक थिए भने, काठमाडौमा केही समयअघि भएको प्रदेश कमिटि सचिवालयको बैठकमै पनि भण्डारीलाई जिल्ला अध्यक्षको रुपमा स्वीकार गर्न नसकिने बताएका थिए । उनले १० बुँदेअनुसार रमेश बस्नेत जिल्ला अध्यक्ष हुनुपर्ने र भण्डारीलाई अध्यक्ष मान्नुपरे आफू बरु सबै जिम्मेवारीबाट राजिनामा दिएर बस्ने बताएका थिए ।
यता सुनसरी जिल्ला अध्यक्षको भूमिकामा रहेका भण्डारीले पनि निरौलाको नेतृत्वलाई लामो समयदेखि अस्वीकार गर्दै आएको अवस्था थियो । भीम आचार्यको विरुद्धमा त उनले सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममार्फत् चर्को आलोचना गरेका थिए ।
गत नगर अधिवेशनमा पनि पदाधिकारीको भागबण्डामा सहमती नभएपछि आचार्य पक्षले निर्वाचनमा सहभागिता जनाएको थिएन ।
आजको कार्यक्रमबाट भने दुवैले एक अर्काको अस्तीत्व स्वीकार गरेको देखिएको छ । ‘रेवती भण्डारीको सम्बोधन हुन्छ भन्ने थाहा पाएरै पनि कार्यक्रममा सहभागि भएका निरौला र निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागि भएका भण्डारीले दुवै एक भएको देख्यौं,’ कार्यक्रममा उपस्थित स्थानीय एक नेताले भने, ‘यस्तो एकता सबै नेताहरुबिचमा सकेसम्म चाँडै होस् ।’