काठमाडौं । नेपालीहरुले खानाको माध्यमबाट प्लाष्टिका सुक्ष्म कर्णहरु (माइक्रोप्लाष्टिक) पनि खाइरहेको अनुसन्धानले देखाएको छ ।
बीबीसी नेपालीका अनुसार यस्ता माइक्रोप्लास्टिकले स्वास्थ्यमा गम्भीर असर गर्नसक्ने पनि अध्ययनले देखाएको छ ।
बोतल तथा जारमा राखिएका पानी तथा पेय पदार्थमा प्रयोगबाट अधिक माइक्रोप्लास्टिक सेवन गरिरहेको अनुमान गरिए पनि त्यसबारे अहिलेसम्म विस्तृत अध्ययन भने भएको छैन । बीबीसीले हालैको एउटा अनुसन्धानले नुनका माध्यमबाट सर्वसाधारण मानिसले नेपालमा वार्षिक सयौँ माइक्रोप्लास्टिक निलिरहेको हुनसक्ने देखाएको औंल्याएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले माइक्रोप्लास्टिकको सेवन वा श्वासप्रश्वासका माध्यमबाट मानव शरीरमा प्रवेशले स्वास्थ्यमा पार्ने असरबारे थप अध्ययन आवश्यक रहेको जनाउँदै आएको छ ।
नेपालमा प्रयोग भइरहेका नुनमा विभिन्न आकार र रङ्गका माइक्रोप्लास्टिक फेला परेको छ ।
भण्डारणको अवस्था, प्याकेजिङ गरिएको मिति, प्रयोग गरिएको प्लास्टिकको मोटाइजस्ता विभिन्न कारणले माइक्रोप्लास्टिक नुनमा मिसिएको नदेखिए पनि उत्पादन प्रक्रियाको मुख्य भूमिका रहेको हुन सक्ने अनुसन्धानले देखाएको हो ।
एक नेपालीले नुनका माध्यमबाट प्रतिवर्ष प्लास्टिकका झन्डै १,८५३ वटा सूक्ष्मकण सेवन गरिरहेको पाइएको छ । डब्ल्यूएचओले दैनिक पाँच ग्रामभन्दा कम नुन सेवन गर्नुपर्ने सिफारिस गरे पनि नेपालीहरूले औसतमा झन्डै दोबर नुन खान्छन् ।