बिहीबारदेखि मौसममा सुधार आउने मौसमविद्को आकलन

न्युजलय २ कार्तिक २०७८, मङ्गलबार ०९:०० मा प्रकाशित


काठमाडौँ ।  बंगालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणालीको बलियो प्रभाव थपिएपछि दुई दिनदेखि देशभर देखिएको मौसमी प्रभाव बिहीबारदेखि कमजोर बन्दै जाने मौसमविद्हरुले आकलन गरेका छन् ।

‘जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि भने धेरै स्थानमा मौसम यस्तै रहन्छ । महाशाखाका अनुसार बंगालको खाडी हुँदै आएको यो प्रणालीको बढी असर सूदूर पश्चिम प्रदेशमा देखिएको छ । सूदूरपश्चिममा दुई दिनअघि नै यो प्रणाली भित्रिएको थियो । प्रणाली भित्रिएसँगै सूदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।

वर्षाका कारण सेती, महाकालीलगायतका नदीमा बाढी आएको छ भने नदीले कटानसमेत गरेको छ । सूदूरपश्चिमका हिमाली जिल्लाहरुमा समेत भारी वर्षा भएपछि बाढी र पहिरो निम्तिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरका मानव सञ्चालित र स्वचालित सबै वर्षा मापन केन्द्रमा वर्षा रेकर्ड भएको छ । 

हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ । विभागले गत साता नै मुलुकबाट मनसुन बाहिरिएको घोषणा गरेको थियो । मौसमविद्हरुले भने अहिलेको मौसमी प्रणालीलाई मनसुनपछिको मौसमी गतिविधि भनेका छन् । धानबाली भित्र्याउने समयमा भारी वर्षा भएपछि देशभरका किसान मर्कामा परेका छन् ।