काठमाण्डौ । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको अवस्था ‘आपतकालिन’ तह नजिक पुगेको छ ।
केन्द्रीय प्रदूषण नियन्त्रण परिषद्ले वायु प्रदूषण अत्यन्तै खराब अवस्थामा पुगेको भन्दै सर्वसाधारणलाई बाहिर ननिस्कन आग्रह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शुक्रबार दिल्लीको एयर क्वालिटी इन्डेक्स ४७१ मा पुगेपछि सीपीसीबीले चेतावनी दिँदै सर्वसाधारणलाई बाहिर ननिस्कन भनेको हो।
शुक्रबार दिल्लीमा वायु प्रदूषण थप खराब हुनुमा फार्महरूमा बालिएको आगो पनि प्रमुख जिम्मेवारमध्ये एक रहेको बताइएको छ। प्रदूषण झन खराब हुँदै गएपछि १८ नोभेम्बरसम्म आपतकालिन व्यवस्थापनका लागि तयार रहन अधिकारीहरूलाई निर्देशन दिइएको छ।
दीपावलीपछि दिल्लीमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको हो। यद्यपि दीपावलीअघि पनि प्रदूषण खराब अवस्थामा पुग्न सक्ने चेतावनी दिइएको थियो।
हाल सुस्त हावाको वहाव भएकाले दिल्लीको प्रदूषण ढिला गरी सफा हुने अधिकारीहरूले बताएका छन्।