रामधुनी। रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजनारायण यादवविरुद्ध पाँच वर्षअघि जारी गरेको लाइसेन्स वितरणमा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत रहँदा सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको आरोपमा यादवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार लिखित तथा प्रयोगात्मक परीक्षामा सहभागी नभएका र अनुत्तीर्ण भएका व्यक्तिलाई समेत उत्तीर्ण भएको देखाएर अनुमतिपत्र जारी गरिएको थियो । जापानमा रहेका व्यक्तिलाई नेपालमै परीक्षा दिएको देखाएर अनुमतिपत्र उपलब्ध गराइएको आरोपसमेत आयोगले लगाएको छ ।
यद्यपि, यादवले अनुसन्धान अधिकृतहरूले विषयको पर्याप्त जानकारी नलिई अपूरो अनुसन्धानका आधारमा अभियोग लगाएको दाबी गरेका छन् । उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अनुसन्धानकर्ताहरु सामान्य विषयमा समेत जानकार नभएको आरोप लगाएका छन् ।
कहिल्यै जापान नगएको व्यक्तिलाई जापान गएको देखाइएको उनको भनाई छ । यादवकाअनुसार लिखित परीक्षा उत्तीर्ण गरेपछि १८ महिनासम्म तीन पटक प्रयोगात्मक परीक्षा दिन पाउने व्यवस्था छ । त्यसैगरी, लिखित परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिन सक्ने र पुनर्योगपछि नतिजामा परिवर्तन आउन सक्ने व्यवस्था छ । यी पक्षबारे पर्याप्त जानकारी नलिई अनुसन्धान गरिएको उनले आरोप लगाएका छन् ।
आफूविरुद्ध लगाइएका आरोपलाई कपोकल्पित भन्दै यादवले अन्तिम फैसला न्यायालयबाट हुने भएकाले अदालतको निर्णय आउनुअघि नकारात्मक धारणा नबनाइदिन आग्रह गरेका छन् ।
अख्तियारले यादवसहित तत्कालीन यातायात कार्यालयका कर्मचारी तथा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी अधिकारीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ का सम्बन्धित प्रावधानअनुसार कारबाहीको माग गर्दै आरोपपत्र दायर गरेको थियो ।