सुनसरी । १५ औँ इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सगरमाथा यूथ क्लब मोरङ र मछिन्द्र फुटबल क्लब भिड्ने भएका छन् ।
बिहीबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा सगरमाथा यूथ क्लबले धरान फुटबल क्लबलाई ० का विरुद्ध १ गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
इटहरी रङ्गशालामा भएको खेलमा सगरमाथाका लागि एकमात्र गोल कुलदिप कार्कीले २९ औँ मिनेटमा पेनाल्टीमार्फत गरेका थिए । २६ औँ मिनेटमा धरानका विक्रम धिमालले सगरमाथाका सुशील राईलाई डिएरियामा लडाएपछि पाएको पेनाल्टीमा कुलदिपले उत्कृष्ट गोल गरे ।
पेनाल्टी दिने उक्त निर्णयप्रति धरानका प्रशिक्षक तथा खेलाडीले असन्तुष्टि जनाएपछि केही बेर खेल रोकिएको थियो ।
खेलको म्यान अफ दि म्याच कुलदिप कार्की घोषित हुँदै नगद १० हजार पुरस्कार पाए ।
प्रतियोगिताको फाइनल खेल शनिवार दिउँसो २ बजेबाट सुरु हुने आयोजक राष्ट्रिय जागृति क्लबका खेल संयोजक अनुरोध थापाले जानकारी दिए ।