लालच र सत्तामोह नभएको योग्य उम्मेदवार छानौं

बाबुराम कार्की २० फाल्गुण २०७८, शुक्रबार ११:१२ मा प्रकाशित

स्थानीय तहको चुनाव घोषणा भएसँगै मूलुकभरका गाउँ, नगरका चोक र चिया पसलहरुमा चुनावी चहलपहल र छलफल सुरु भएको छ । चुनाव नजिकिँदै जाँदा पार्टीहरुले भेला र बैठकलाई मूख्य प्राथमिकता दिन थालेका छन् ।  

पाँच वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा सर्वसाधारणहरुमा भने चुनावको खासै रौनक देखिएको छैन । नेताहरुले बोलाई र गराईमा फरक व्यवहार देखाउने गरेकाले जनमानसमा नेताप्रतिको विश्वास गुम्दै गएको छ ।

यसअघि भएको स्थानीय तहको चुनावमा उठ्ने उम्मेद्वारहरुले बाडेको घोषणापत्रको प्रतिबद्धत्ता अनरुप व्यवहारमा लागु नगरेकाले मतदाताहरुमा चुनावप्रतिको उत्साह कम हुँदै गएको छ । 

चुनाव आउन तीन महिना बाँकी रहँदा पार्टीहरुमा कसलाई टिकट दिने भनेर आन्तरिक छलफल सुरु भएको छ । पार्टीहरुभित्रै कसलाई टिकट दिने कसलाई नदिने भन्ने चर्चा चुलिँदै गएकोछ । 

अहिलेका युवाहरुमा राजनीतिक आकर्षण र झुकाव कम भएको बेला युवापुस्ताहरुको नेतृत्व हुनुपर्छ भन्नेहरुको जमात पनि बाक्लो छ । राजनैतिक दलका परम्परागत क्रियाकलापले गर्दा शिक्षित युवाहरु राजनीतिमा आउन सकिरहेका छैनन् । जसका कारण अयोग्य र नेतृत्व सीप नभएकाहरुले राजनीतिको बिँडो थामिरहेका छन् ।

राजनीतिमा आएका केहि युवाहरु पनि नेताहरुको चाकरी र उनिहरुको इशारामा नाच्ने परिपार्टीले गर्दा राजनीतिक स्वार्थको आइसोलेसनमा बन्धक बनेका छन् ।  

दलहरुका घेराबन्दीमा गुन्डागर्दी, भ्रष्टाचार, ठगी, सरुवा, बढुवा तथा सामाजिक अपराधमा राजनीतिक संरक्षणको कारण युवा र शिक्षित वर्गमा राजनीतिप्रति वितृष्णा उत्पन्न भइरहेको छ । 

राज्य पुर्नसंरचनामा गएपछि स्थानीय निकायको काम कर्तव्य र अधिकार बढेको छ । त्यसैले पनि स्थानीय तहको नेतृत्वमा पुग्न पार्टीहरुका कनिष्ठदेखि बरिष्ठसम्मले टिकटका लागि तछाडमछाड गर्ने परम्परा बसेको छ । नेताहरुले पनि आफ्नो अधिनमा बस्ने र आफ्नो जयजयकार गर्नेहरुलाई मात्र टिकट दिँदा पार्टीहरुले धेरै ठाँउमा सोचअनुसारको नतिजा  ल्याउन सकेका छैनन् । जसलाई नेताहरु कमैले मात्र हेक्का राखेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार चुनाव जितेर गएकाहरुले नै नागरिकता, नाता प्रमाणित, जन्मदर्ता, विवाहदर्ता, बसाइँसराइलगायत स्थानीय ऐनमा भएबमोजिम सम्पूर्ण कामहरु गर्न पाउने अधिकार छ । स्थानीय स्रोत साधनको उपयोगमा पनि उनीहरु पावरफुल छन् । सांसदको भन्दा बढी बजेट र प्रशासन चलाउन पाउने भएपछि स्थानीय जनप्रतिनिधि बन्न लालायित देखिन्छन् ।   

यस्तो लालसाले गर्दा पैसा र पहुँच हुने तर जनाधार नभएका अनि सही व्यवस्थापकीय सीपसहित नेतृत्व गर्न नसक्नेहरुको रजगज बढ्दै गएको छ । राजनैतिक दलहरुले स्थानीय तहको चुनावका लागि टिकट वितरण गर्दा उम्मेद्वारको शिक्षा, राजनैतिक पृष्ठभूमि, नेतृत्व लिन सक्ने क्षमता, लगायतका आधारहरुलाई मान्न आवश्यक छ । तर त्योभन्दा पनि अहिले पैसा र पहुँचकै बोलवाला हुने गरेको छ ।

स्थानीय तहका काम कारबाहीहरु प्रभावकारी हुन नसक्नुको कारण दलहरुमा योग्य व्यक्तिलाई उम्मेदवार नबनाइ आर्थिक चलखेल गरी सामाजिक छवी बिग्रिएका, गुटगत निकटता भएका आधारमा टिकट वितरण गर्ने प्रणाली हो । जसका कारण सही र असल नेतृत्वकर्ताले स्थान पाउँदैनन् । 

पार्टीको विधानबमोजिम राजनैतिक दलहरुले उम्मेद्वारी छनौट गर्दा स्थानीय तहमा भिजेको, र स्थानीय तहको विकासमा लागी पर्ने परिपक्व व्यक्तिलाई अगाडि सारे मात्र पार्टी र स्थानीय तहकै विकासमा टेवा पुग्न सक्छ ।

राजनैतिक दलहरुले सस्थानीयले खोजेको, स्थानीय निकाय र बासिन्दाको समस्या पहिचान गरी विकासलाई गति दिन सक्ने जुझारु व्यक्तित्वलाई अघि सार्न आवश्यक छ । 

किनकी अबका चुनावहरुमा पार्टी भन्दा पनि उम्मेदवारको योग्यता र क्षमता अनि विकासप्रतिको लगाव हेर्न थालिएको छ । स्थानीय तहको चुनावमा पार्टीलाईभन्दा पनि व्यक्तिलाई हेरेर मतदान गर्ने परिपाटीको विकास हुँदै गएको छ । जसले गर्दा सही नेतृत्वकर्ता छनोट हुनुका साथै स्थानीय विकासमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

कतिपय जनप्रतिनिधिहरु फेरी पनि त्यही नेतृत्वमा दोहोरिने आकांक्षा राखिरहेका छन् । एकपटक स्थानीय तहको नेतृत्व गरेकाहरुले नै दोस्रोपटक पनि नेतृत्वमा आउन खोज्नु पदप्रतिको मोह, लालचीपना र शक्तिकेन्द्रित प्रवृत्ती हो । त्यसमाथि राम्रो काम गरेका भए पो फेरी उठ्ने इच्छा राख्नु पनि स्वभाविक हुन्थ्यो । नेतृत्वमा हुँदासम्म हरेक ठेक्कामा कमिसन, हरेक निर्णयमा आफ्नो स्वार्थ र व्यवशाय चलाउने मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षहरुले अबको चुनावमा योग्य र सक्षम व्यक्तिलाई ठाउँ छोड्नु उपयुक्त हुनेछ । नत्र सचेत मतदाताले नमज्जाले बढारिदिनेछन् ।

लोभ लालचबाट टाढै बस्ने र स्थानीय विकासका निमित्त लागिपर्नेहरुलाई नै नेतृत्वमा पु¥याउनु सबै स्थानीय निकायका बासिन्दाहरुको जिम्मेवारी हो । मतदाताले आफ्नो मत अधिकार प्रयोग गर्दै गर्दा म कस्तो व्यक्तिलाई मत हाल्दै छु भन्ने सोचेर पाँच वर्षसम्म नपछुताउने किसिमले जिम्मेवारी बहन गर्न सक्ने क्षमतावान, परिपक्व व्यक्तिलाई मतदान गर्नुपर्छ ।

कसैको लहैलहैमा लागेर, क्षणिक स्वार्थमा भुलेर नेतृत्व बहन गर्न नसक्ने, अरुले बोकेको भरमा काम गर्ने उम्मेदवारहरुलाई मतदान गर्ने हो भने विजय जुलुसको भोलिपल्ट धारेहात लाएर गाली गर्नुको विकल्प हुँदैन ।