काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशिला कार्कीलाई ६ घण्टा कुर्दा पनि भेट्न नपाएको खुलेको छ ।
आइतबार बिहानै करिब ७ बजे प्रधानमन्त्री निवास वालुवाटार पुगेका उनलाई सुरुमा सुरक्षाकर्मीहरूले गेटबाट छिर्नै दिएनन् । लामो समयसम्म पनि त्यहाँबाट नहिडेपछि उनलाई परिसरभित्र प्रवेश दिइएको थियो । तर प्रधानमन्त्रीलाई भेट्न भने पाएनन् ।
दिउँसो १ बजेसम्म बालुवाटारमै कुरेर बसे पनि प्रधानमन्त्री कार्कीले ‘अपोइन्टमेन्ट नलिएका व्यक्तिसँग भेट हुँदैन’ भन्दै भेट्न मानिनन् । त्यसपछि उनी फर्किए । साँझ उनले फेसबुकमा लेखे, मन्त्री बन्नु अघि भारतीय दुदावास किन जानु पर्ने रैछ ? यो मैले नबुझेको । म त जान्न । जाँदिनँ भन्दिएँ । मन्त्री बनें भने मलाई भेट्न र बधाइ दिन चाहिँ आउनु पर्छ भारतीय राजदुत नमस्कार गर्दै मेरो मन्त्रालयमा । कि कसो नेपाली हो ?
प्रधानमन्त्री माग्दै हिडेका उनी प्रधानमन्त्री नपाएपछि अरु कुनै मन्त्री भएपनि पाउनका लागि दौडाहामा छन् । उनलाई उनका समर्थकहरुले फेसबुकमा कसैले भौतिक पुर्वाधार मन्त्री त कसैले श्रममन्त्री भन्दै प्रस्ताव गरिरहेका छन् । तर उनको इच्छा भने गृहमन्त्री रहेको बताइएको छ । आइतबार कार्कीसँग भेट भएको भए उनी त्यही प्रस्ताव गर्नेवाला थिए ।
साम्पाङ यतिखेर मन्त्री माग्दै कहिले फेसबुकमा स्टाटस लेख्ने त कहिले जेन्जीलाई सम्बोधन गर्दै चेतावनी दिने, त कहिले यो सरकार विदेशीको इशारामा बनेको भन्दै धम्क्याउने र कार्यकर्ता उचाल्ने गरिरहेका छन् ।
उनले नेतृत्व गरेको धरान उपमहानगरपालिका चाहिँ बजेट पनि बनाउन नसकेर बेहाल छ भने काठमाडौ जानुअघि समर्थकहरुलाई उचालेर स्थानीय नेताहरुको घर र पसल तोडफोड गर्न उक्साएको आरोप उनलाई लागेको छ ।