काठमाडौँ । आइसीसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । एक सय ३१ रनको लक्ष्य पछ्याएको कुवेतलाई नेपालले २२ रनमा अलआउट गरेको हो ।
संयुक्त अरब इमिरेट्स (युएई) को अजमानस्थित द सेभेन क्रिकेट रंगशालामा बिहीबार टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३० रन बनाएको थियो ।
छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।
यो प्रतियोगितामा नेपालले लगातार जित हासिल गरेको छ । यसअघि नेपालले थाइल्यान्डलाई ७६ रनले पराजित गरेको थियो । अंकतालिकामा नेपाल लगातार दुई खेल जित्दै ४ अंकसहित शीर्षस्थानमा रहेको छ ।