बाघको आक्रमणबाट शर्माको मृत्यु

न्युजलय ४ चैत २०८०, आइतबार ०१:०१ मा प्रकाशित

नेपालगञ्ज । बाघको आक्रमणबाट बाँकेको राप्तीसोनारीमा एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी–९ ढकेरी नजिक बाघको आक्रमणबाट दार्माकोट सल्यानका ७१ वर्षीय नागेन्द्रप्रसाद शर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

शर्मा ढकेरीमा आफन्तको घरमा बस्दै आएको बताइएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत ढकेरीस्थित जंगलमा आइतबार बिहान शव फेला परेको थियो ।

शर्माको शव ढकेरी र चप्परगौडीबीचको जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । शव बाघले खाएको अवस्थामा कोहलपुर र ढकेरीको बीचमा रहेको भालुखोलामा फेला परेको छ ।

मृतक शर्मा ढकेरीस्थित आफन्तको घरबाट शनिबार बेलुका कोहलपुर जान भनी निस्केको बुझिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।