विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी सत्तारुढ दल नेकपा एमाले र मुख्यमन्त्री भीम आचार्यको सारथी बनेको विपक्षी दलका नेताहरुले आरोप लगाएका छन् ।
आइतबार(आज) प्रदेशसभा बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले सभामुख सत्तापक्षको पक्षपोषणमा लागेको भन्दै आलोचना गरेका हुन् ।
मुख्यमन्त्री आचार्यले दशैंअघि विश्वासको मतका लागि प्रस्ताव दर्ता गर्ने र दशैंपछि मात्र त्यसलाई छलफलमा लैजाने तयारीमा छन् । मुख्यमन्त्रीको इच्छामा सभामुख भण्डारीले साथ दिएको भन्दै विपक्षी दलका नेताहरुले सभामुखले संविधान र कानुन भन्दा बाहिर गएर काम गर्न नहुने बताएका छन् ।
संविधानको धारा १८८ को उपधारा २ मा मुख्यमन्त्रीको दल विभाजित भएमा ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रदेशसभामा प्रस्ताव पेश गर्ने व्यवस्था छ ।
आइतबार नेताहरुले धारणा राखेपछिे प्रदेशसभा बैठक पनि सकिएको छ । अब अर्को बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।