काठमाडौं । अखिल (क्रान्तिकारी) को नयाँ कमिटिको लागि मोरंगका अर्जुन पौडेल खुलातर्फ सचिवमा दावेदारी दिएका छन् । काठमाडौमा जारी अखिल क्रान्तिकारीको २३ औं सम्मेलनअन्तर्गत हुने चुनावमा उनले सचिवको दावी गरेका हुन् ।
बेरोजगार उत्पादन गर्ने कारखाना मात्र भइरहेको नेपालको शिक्षा प्रणाली परिवर्तनका लागि आफूसँग योजना रहेको पौडेलले दावी गरेका छन् । उनले विद्यार्थीको रुचि अनुसारको व्यवहारिक शिक्षा आवश्यक रहेको औंल्याउँदै त्यसका लागि अनुसन्धान गर्ने, योजना बनाउने र लागु गर्नको लागि सरोकारवालाहरुलाई एकजुट गराउने कार्ययोजना आफूसँग रहेको बताए ।
उनले देशभरका शैक्षिक संस्थाहरु, संगठनहरु, स्थानीय तहको कार्यप्रणाली सबैको अध्ययन आफूले सुक्ष्म रुपले गरेको बताउँदै शहरी क्षेत्र तथा ग्रामिण क्षेत्रका लागि फरक प्रकारका योजना बनाएर अघि बढ्नुपर्ने बताए । त्यसको लागि अन्य विद्यार्थी संगठनहरु, राजनीतिक दलहरुसँग समेत हातेमालो गरेर अगाडी बढ्ने योजना रहेको बताए।
विद्यार्थीलाई राजनीतिप्रति चासो राख्ने वातावरण बनाउन, विद्यार्थीलाई रोजगारीसँग जोड्न, बढ्दो वैदेशिक पयालन रोक्न, विद्यार्थी संगठनप्रतिको भ्रम चिर्न पहल कदमी गर्ने उनको भनाइ छ। पौडेलले ओझेलमा पर्दै गएको विद्यार्थी आन्दोलनको औचित्यलाई प्रष्ट्याउन, विद्यार्थी संगठनको महत्व आम मानिसमा दर्शाउनका लागि संगठनलाई नयाँ सिराबाट अगाडी बढाउनु पर्ने भन्दै त्यसको ठोस योजना आफूसँग रहेको दाबी गरे। उनले अबको विद्यार्थी राजनीति समस्यामा केन्द्रित नभएर समस्याको समाधानमा केन्द्रित हुनुपर्ने समेत बताए।
कक्षा ७ मा पढ्दादेखि विद्यार्थी राजनीतिमा सक्रिय पौडेल अहिले अखिल (क्रान्तिकारी)को केन्द्रिय सदस्य छन्।