इटहरी । गत मङ्सिर ११ गतेबाट सुरु भएको इटहरी फुटबल रनिङ कपको उपाधि वडा नम्बर ५ ले जितेको छ । सोमबार भएको फाइनल खेलमा वडा नम्बर ३ लाई २–१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ५ ले उपाधि जीतेको हो ।
वडा नम्बर ५ लाई जिताउन कप्तान दिपेन तामाङ र जोसन राईले गोल गरे । वडा नम्बर ३ को तर्फबाट विशाल श्रेष्ठले सान्त्वना गोल फर्काए । विजेता भएसँगै वडा नम्बर ५ ले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वडा नम्बर ३ ले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्तबुझाएको छ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक वडा नम्बर ५ का दिपेश चौधरी, म्यान अफ दि म्याच पनि वडा नम्बर ५ कै विजय राई घोषित भए । यसैगरि वेस्ट मिडफिल्डर, वेस्ट डिफेन्स र वेस्ट कोच पनि वडा नम्बर ५ कै क्रमश। सन्जु श्रेष्ठ, मनिश मगर र सुजन चौधरी घोषित भए । बेस्ट फर्वाड र राइजिङ प्लेयर क्रमश। वडा नम्बर ३ का विशु श्रेष्ठ र वडा नम्बर १६ का अभिषेक विश्वकर्मा तथा हाइ स्कोरर वडा नम्बर ५ का जोसन राई, वडा नम्बर ३ का विशु श्रेष्ठ र वडा नम्बर २० का सुमन लिम्बु घोषित भए । उनिहरुले प्रतियोगिता भरी समान ३÷३ गोल गरे ।
मङ्सिर ११ गतेबाट सुरु भएको रनिङ कपमा इटहरीका १५ वटा वडाहरुको सहभागिता रहेको थियो । आसन्न एन्फाको सुनसरी जिल्ला स्तरीय ए डिभिजन छनौट चरणका लागि खेलाडी छनौट गर्न प्रतियोगिताको आयोजना गरिएको आयोजक इटहरी फुटबल क्लबका अध्यक्ष श्याम मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार ए डिभिजन छनौटका लागि इटहरी उपमहानगरबाट दुई वटा टीमले सहभागिता जनाउने छ । ती दुई टिममा यसै प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरु छनौट गरिने उहाँले जानकारी दिनुभयो ।