तेक्वान्दोको राष्ट्रिय च्याम्पियनसिपमा इटहरीका तीन खेलाडीले जिते पदक

न्युजलय १३ फाल्गुण २०८०, आइतबार ०५:१० मा प्रकाशित

इटहरी । पहिलो स्कुल लेभल नेशनल तेक्वान्दो च्याम्पियनसिप २०८० मा इटहरीले सिल्भर र ब्रोन्ज पदक पाएको छ । कस्तुरी एकेडेमीबाट प्रतिनिधित्व गर्ने तीन खेलाडीले पदक जितेका हुन् ।


प्रतियोगितामा इटहरीबाट छनोट भइ पुगेका चार जना खेलाडीमध्ये तीन खेलाडीले पदक जितेका हुन् । 


ललितपुरमा यसै साता भएको पुम्से विधाको अण्डर ११ को व्यक्तिगततर्फ सुहाना लिम्बूले दोस्रो हुँदै सिल्भर पदक पाएकी छिन् ।


त्यस्तै, अण्डर ११ को डबलतर्फ अभि भट्टराई र विशेषता सत्यालको जोडीले तेस्रो हुँदै ब्रोन्ज पदक जित्न सफल भएका हुन् ।


दुवै प्रतिस्पर्धामा विद्यार्थीहरूले छोटो समयको तयारीमै पदक जित्न सफल भएको तेक्वान्दो प्रशिक्षक प्रसन्न तिम्सिनाले जानकारी दिए । उनले राष्ट्रिय प्रतियोगितामा इटहरीका खेलाडीहरुको जित ठूलो उपलब्धी भएको बताए । 


प्रसन्न सोही प्रतियोगितामा रेफ्रीको भुमिकामा थिए । ‘छोटो समयको तयारीमा खेलाडीहरुले जसरी खेले, प्रशिक्षकको रुपमा निकै खुसी छु,’ उनले भने ।


तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिताका विभिन्न विधामा देशभरबाट करिब एक हजार बढि विद्यार्थीहरूले भाग लिएका थिए ।