यस्तो अनुभव फेरी भोग्नु नपरोस् । यस्तो दु:ख अरु कसैलाई नहोस् ।
हलेसी, खोटाङ्गबाट लिम्चुङबुङ, उदयपुर पुग्ने वैकल्पिक मार्ग हुँदै साथी प्रशान्त र म बाइकमा यात्रा गर्दै थियौं । बीच बाटोमा एउटा बाइक रोकिएको थियो, बाइकसँगै एकजना महिला भुँइमा लडिरहेकी र उनलाई एकजना पुरुषले उठाउन सहयोग गर्दै थिए । हामीले बाइक रोकेर सहयोगका लागि अगाडी बढ्यौं ।
निक्कै नै चिन्तित र साहाराविहिन देखिएका ती पुरुषले भने – “मेरी सुत्केरी श्रीमती, ब्यथा लागेर बाइकमा हेल्थ पोष्ट लगेको, धेरै गाह्रो भएर यता भुँइमै छौं, हेल्थ पोष्ट धेरै टाढा छ ।” घाम लागेको तर चिसो हावा चलेको मौसम, जाडो मौसममा रुखबाट पात झरेर उजाड देखिएको जंगल, डोजरले खनेर बालुवा र धूलो मिसिएको बाटो – त्यही मौसम र त्यही बाटोमा लडिरहेकी उहाँ कराउन थाल्नुभो – “मलाई गाहो भयो । पेटमा थिच्नु । बच्चा झर्न लाग्यो ।”
नभन्दै बच्चाको टाउको निस्किसकेको थियो । बेस्मारी हात समात्नुभयो । उहाँले बल गर्नुभयो । हामीले ज्याकेट भूँइमा बिछ्यायौं । केही छिनमा बच्चा जन्म्यो। मंसिर २७ गते मंगलवार बिहान ९ बजेको समय । बच्चाको आधा जिउँ ज्याकेटमा आधा जिउँ भुँइमा । केही क्षण सन्नाटा । बालुवा र धूलो लागेर बाँयापट्टीको आँखा खोल्न नसकेका ती शिशु हात र खुट्टा चलाउँदै रुन थाले । बल्ल शान्ति मिल्यो ।
“बाटोमा जन्मेको यस्को के नाम राख्ने ?”
“इन्जिनियर” – बुबाले भन्नुभयो ।
“हो यसले यो बाटो बनाएर अरुको दु:ख मेट्नुपर्छ ।”
आमाको लुगाले बच्चालाई छोपिएको थियो, उहाँको बच्चा हेर्न सिधा उभिन सक्ने अवस्था थिएन । हाम्रो जिउँमा अडेस लगाउँदै लामो सास लिनुभयो । एकछिन आँखा बन्द गरेर आराम गर्नुभयो । प्यास लागेर पानी खोज्दै हुनुहुन्थ्यो । आजकै दिन हामीले पानी नबोकेको । नजिकै खानेपानी कतै थिएन ।
बच्चा त जन्मियो, तर साल झर्नै बाँकी थियो । बच्चाको साल काट्नुपर्ने, तर कसरी काट्ने ? हामी तीन जना पुरुष, एकछिन त लाचार भयौं । धन्न मोबाइलमा नेटवर्क थियो । अलि तल कोशी वारी उहाँका आफन्त छिमेकीहरु बस्थे । फोन लाग्यो । पानी, लुगा, धागो र ब्लेड ल्याउनु भने ।
१५ मिनेटपछि दुईवटा बाइकमा ४/५ जना मानिसहरु आइपुगे । अब भने हामीलाई पनि राहत मिल्यो ।
आमा र बच्चा दुवै स्वस्थ थिए । बाइकमा बस्दै हेल्थ पोष्ट जानुको सट्टा सबैजना तल कोशी वारीको घरमा फर्के । हामी पनि सँगसँगै फक्र्याै । चिया नास्ता नगरी जानै दिनुभएन ।
मनमा अथाहा प्रश्नहरु उब्जिरहेका थिए ।
“कुकुर पनि नहिँड्ने त्यो बाटोमा यस्तै दु:ख पर्दा के गर्ने होला ?”
“यहाँका मानिसले हेल्थ पोष्टमा कहिले बच्चा जन्माउला ?”
“केही दिन अघि नै हेल्थ पोष्टमा भर्ना हुनुपर्ने किन ध्यान नदिएको होला ?” “स्थानीय सरकार, खोइ कता छ ?”
धेरै प्रश्नका बीच गाउँका एकजना नर्स दिदीले भन्नुभएको कुरा याद आयो – “गाउँमा हेल्थ पोष्टले बच्चा जन्माउनै पर्दैन, बाटोले नै जन्माउँछ ।”
उहाँको कुरा बल्ल बुझ्दैछु ।
- सगेन्द्र श्रेष्ठ