प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच दुर्घटना बीमा सम्झौता

न्युजलय १५ चैत २०७८, मङ्गलबार ०१:०६ मा प्रकाशित

इटहरी । नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच दुर्घटना बीमा सम्झौता भएको छ । सोमबार (आज) प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले, अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहाल (दिनेश)ले दुर्घटना बीमामा सम्झौता गरेका हुन् ।


यसअघि अघिल्लो वर्षपनि सुनसरीसहित प्रदेश १ का १४ वटै जिल्लाका प्रेस युनियन अध्यक्षहरू गरी ३२८ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो । तर, यसवर्ष जिल्लाका २७१ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए । उनका अनुसार बीमामा लाग्ने कुल रकममध्ये आधा रकम युनियनले व्यहोर्नेगरी सम्झौता भएको हो ।  


‘बीमित सञ्चारकर्मीको दुर्घटनामा मृत्यु भएमा सात लाख रुपैँया पाउनेछन् भने घाइते भएमा अधिकतम् एक लाखसम्म पाउनेगरी सम्झौता भएको छ,’ अधिकारीले भने, ‘दुर्घटनामा अङ्गभङ्ग भए वा कामै गर्न नसकेको अवस्थामा पनि कम्पनीको पोलिसी अनुसार रकम पाइन्छ, आजको मितिबाट एक वर्षसम्मका लागि सम्झौता भएको हो ।’


प्रेस युनियन सुनसरीका उपाध्यक्ष सञ्जीव वाग्लेका अनुसार अघिल्लो वर्ष पनि गरिएको बीमा यसवर्ष पनि दोहोर्याइएको हो । 


अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्रीले बीमा गर्नुले मानिसको जीवनमा सकारात्मक प्रभाव पर्ने बताए ।