प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि प्रहरी जवानले आफैंलाई हाने गोली

न्युजलय ५ असार २०८१, बुधबार ०२:०५ मा प्रकाशित

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आफैंलाई गोली प्रहार गरेको खुलेको छ ।

प्रहरीको अनुसन्धानको क्रममा जवान अजित गोलेले आफैंलाई गोली प्रहारको कारण प्रेमिकासँग जोडिएको पाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोले बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए । घटनास्थल मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ।

घटनास्थल शौचालयको भित्तामा ठड्याएको अवस्थामा गोलेको मोबाइल समेत बरामद भएको थियो । अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतका अनुसार घटनास्थलमा भेटिएको मोबाइलबाटै आफैंलाई गोली हानेको प्रारम्भिक तथ्य खुलेको हो । 

अविवाहित गोलेले इन्गेटमेन्ट भने गरिसकेका थिए । करिब ५ महिनाअघि आफ्नी प्रेमिकासँग गोलेले इन्गेजमन्ट गरेका थिए । इन्गेजमेन्टपछि गोलेले खर्च गरेर आफ्नी प्रेमिकालाई दुबई पठाएका थिए । करिब ५ महिनादेखि उनकी प्रेमिका दुबईमा छिन् ।

तर दुबई पुगेपछि प्रेमिकाले उनलाई वास्ता गर्न छाडेको भन्दै उनीहरुबीच विवाद हुने गरेको थियो । उक्त कुरा उनीहरुको मोबाइलमा भेटिएको म्यासेजबाट समेत पुष्टि हुने ती अनुसन्धान अधिकृतले बताए । प्रेमिकासँग विवाद भएको बेलामा पटक–पटक उनले ‘मर्छु’ भन्दै म्यासेज पठाउने गरेको समेत भेटिएको छ ।

उनले आफैंले बोकेको इन्सास बन्दुकबाट १ राउण्ड गोली हानेको पाइएको छ ।

उनी आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । प्रहरीको केन्द्रीय विशेष कार्यदलमा कपन दरबन्दी रही उनी संसद भवनमा खटिँदै आएका थिए ।

 गत २८ जेठदेखि उनलाई संसद भवनमा खटाइएको थियो । कार्यदलमा कमाण्डो तालिम गरेको प्रहरी रहने भए पनि उनी भने कमाण्डो तालिम प्राप्त व्यक्ति होइनन् । उनले २०७८ सालमा प्रहरी जवानमा भर्ना भएका थिए ।