त्यो अन्तीम भाषण : ताप्लेजुङको लिम्बुलाई, झापाको राजवंशीलाई लाग्ने कस्तो पहिचानको ढुंगा हो ?

न्युजलय ३१ चैत २०८०, शनिवार १२:३५ मा प्रकाशित

युवा संघ कोशीको प्रथम महाधिवेशन उद्घाटन सत्रका सभापति महोदय,

मञ्चमा आसिन कमरेड भानुभक्त ढकाल, कमरेड शेरधन राई, कमरेड महेश बस्नेत, कमरेड यज्ञ सुनुवारलगायत सम्पूर्ण युवा संघका मित्रहरु, आदरणीय र प्रिय कमरेडहरु, प्रिय मित्रहरु पत्रकार साथीहरु, यहाँ उपस्थित सबै दिदी बहिनी दाजुभाई राष्ट्रसेवक साथीहरु । 

म सबभन्दा पहिले त यो भब्य कार्यक्रमको आयोजना गरेर आफ्ना कुराहरु राख्ने, भलाकुसारीका केहि क्षणहरु यहाँहरुसँग व्यतित गर्ने जुन अवसर जुटाइदिनुभयो त्यसका लागि म यहाँहरुलाई धन्यबाद दिन दिन चाहन्छु । अगाडी धेरै कमरेडहरुले विस्तारमा आफ्ना कुराहरु राखेर गईसक्नुभएको छ । साथीहरुले सबै कुराहरु आफैले ख¥याक खुरुक राख्दै अरु बाँकी कुराहरु चाहिँ प्रमुख अतिथिले भन्नुहुन्छ भनेर मेरा लागि ठाउँ पनि छुट्याउनुभएको छ । त्यसैले उहाँहरुलाई धन्यवाद दिदै मेरो काम सजिलो भएको छ भन्ने लागेको छ । म यहाँहरुको धेरै समय लिन चाहन्नँँ । आजै छ बजे मैले काठमाडौ पुग्नु छ । संसदको गतिविधि यहाँहरुले सुनिरहनुभएको छ त्यसैले आजै मैले काठमाडौ पुग्नु छ । यसलाई ध्यानमा राखेर म केहि समसामयिक सान्दर्भिक कुराहरु यहाँहरुको अगाडी राख्न चाहन्छु । 

आयोजक साथीहरुले यो क्षेत्रका साथीहरुले साँच्चिकै भब्यताका साथ यो कार्यक्रमको आयोजना गर्नुभयो । अहिले अलिकति अगाडीसम्म पनि युवासंघका भब्य जुलुसहरु आइरहेका हामीले देखेका छौ । त्यसैले यहाँहरुलाई फेरी पनि एक पटक बधाई धन्यवाद र शुभकामना । कलाकार भाईबैनीहरुलाई मीठो प्रस्तुतीका लागि धेरै धेरै धन्यवाद । आजै पुग्नुथिएन भने अझै मजाले अरु धेरै प्रस्तुतीहरु हेर्न मन थियो । मन लाग्ने प्रस्तुतीका लागि म कलाकार भाईबैनीहरुलाई धन्यवाद दिन चाहन्छु । 

वास्तवमा अहिले त हामी उद्घाटनको औपचारिकतामा छौँ । हाम्रा थुप्रै काम बाँकी छन् । बन्दसत्र जुन योसम्मेलनको यो अधिवेशनको मुख्य भाग हो त्यो बाँकी छ । यहाँहरुले नेतृत्व चयन गर्न बाँकी छ । अहिलेसम्मका आफ्ना कामकारवाहीहरुलाई समीक्षा गर्दै कमिकमजोरीहरुलाई सच्चयाउँदै हामी यसरी अघि बढ्छौ भन्ने प्रतिबद्धताका साथ नयाँ नेतृत्ब चयन गर्ने महत्वपूर्ण काम बाँकी छ । त्यसैले म यहाँहरुलाई बधाई र शुभकामना दिदै केहि कुराहरु मात्रै राख्छु । धेरै समय लिन चाहन्नँँ । 

वास्तवमा आज मलाई सम्झना हुन्छ, जब म २९–३० सालतिर अब साइन्स पढ्ने होइन अब इन्जिनियर बन्ने होइन भनेर त्रिचन्द्र कलेजबाट आइएसी पास गरेर इन्जिनियर नपढिकन अब वकिल पढनुपर्यो भनेर बिए पढन म आफ्नो घर इलाम आएँ । मलाई झल्झली सम्झना छ २९–३० सालतिर इलाम बहुमुखी क्यामपसमा भर्ना भएर त्यो २९–३० सालमा स्बतन्त्र विद्यार्थी युनियनको सभापति अखिलको सभापतिको रुपमा मैले लडेँ र जितेँ । मलाई अहिले पनि झल्झली सम्झना छ । त्यति बेला गरेको एउटा काम मलाई अहिले पनि सम्झना छ । अब हामीले यो वरिपरिका जिल्लाहरुमा जानुपर्छ है भनेर मेरो नेतृत्वमा विद्यार्थीहरुको टोली इलामबाट हिड्यो । झापा हुदै धरान हुँदै धनकुटा हुदै तेहथुम हुँदै फिदिम हुँदै इलाम पुगेको मलाई सम्झना छ । दुःखत घटनाहरु पनि भए । पछि थाहा भयो हामी बाटोमा आउँदा हाम्रो झापाका आदरणीय शहीदहरुलाई कु्ररतापूर्बक हत्या गर्ने काम त्यहि दिन भएको रहेछ ।

हामीलाई प्रहरीले दुई घण्टा जति त्यो शहादत भएको स्थलमा रोकेको मलाई झल्झली सम्झना छ । पछि मात्रै थाहा पायौँ हामीले के भएको रहेछ भनेर । त्यहि बेला धरानको प्रसंग चाँही मैले यसकारणले तपाईहरुको अगाडी राख्न खोजेको हो, धरान भनेपछि हाम्लाई एकप्रकारको फूर्ती आउँथ्यो, तातो लाग्थ्यो, जोस आउँथ्यो । त्यसैले हामीले यो हाम्रो कार्यक्रममा धरान पुग्नैपर्छ ठानेका थियौँ र हामी धरान बसेको मलाई हिजो अस्ति जस्तो लाग्छ । २९–३० सालमा म स्ववियु सभापतिको नेतृत्वमा आएको टोली धरान बसेका थियांै । धरानबाट धनकुटा हुँदै सबै हामी हिडेको मलाई सम्झना छ । धरानमा त्यतिबेलाका साथीभाईसँग हामी भेटघाट गरेको छलफल गरेको मलाई हिजोअस्ति जस्तो लाग्छ । 

धरानप्रतिको त्यो थियो हाम्रो विश्वास । यो बिचको अवधिमा हामी अगाडी बढ्यौ कि पछाडी झर्यौं त्यो अहिले बेला छैन, यहाँहरुले छलफल गर्ने कुरा हो । तपाईहामी सबैले छलफल गर्ने कुरा हो र एउटा निष्कर्षमा पुग्ने कुरा हो तर मलाई विश्वास छ यसपटकको यो युवा संघको यो प्रदेशको अधिवेशन यहाँहरुले भब्यतापूर्बक यहाँ आयोजना गर्नुभयो, यहाँ जुन ढंगले यहाँहरु जम्मा हुनुभयो, जुन ढंगले भब्यता पूर्बक उद्घाटन समारोह लगभग भब्यतापूर्वक सम्पन्न गर्दै यो ठाउँसम्म आईपुग्नुभएको छ, मलाई लाग्छ धरान फेरी आफ्नो त्यो पुरानै स्थिति प्राप्त गर्ने दिसातर्फ बढेको छ भन्ने मलाई विश्वास छ । 

त्यसैले म यहाँहरुलाई निरन्तर अगाडी बढ्नुस यहाँहरुलाई बधाई छ धन्यबाद छ शुभकामना छ भन्ने कुरा पनि म धराने कमरेडहरुलाई यहिबाट म जोड्न चाहन्छु । म यसबारेमा अरु धेरै भन्दिनँ । आज हामीले यो अधिवेशन योसम्मेलनको उद्घाटन समारोहबाट हामी अघि बढिरहेका छौँ र युवा संघलाई अघि कुरा आइसकेको छ मैले धेरै जोडनु छैन भव्यतापूर्वक अघि बढने सन्दर्भमा कोशी प्रदेशको यो युवा संघलाई दरिलो आधारमा उभ्याउनका लागि भनेर भनेर एउटा आधार तयार गर्ने कुरामा हामी अगाडी बढिरहेका छौँ, त्यसको लागि तपाईहरुलाई म बधाई शुभकामना दिन चाहन्छु । 

वास्तवमा अहिले देशमा थुप्रै सन्दर्भहरु थुप्रै कुराहरु उठेका छन् । म ति सबै कुराहरुमा जान चाहन्नँँ । केहि समसामयिक सन्दर्भलाई मात्रै जोड्दै यहाँहरुलाई म बधाई धन्यबाद शुभकामना दिनका लागि तपाईहरुको अगाडी म उभिएको छु । म हतार गर्दै छु आजै काठमाडौ पुग्नु छ किन भने हाम्रो संसदको अधिवेशन सिद्धिएको छैन । संसद अधिवेशन चलिरहेको छ । चलिरहेको छ भन्नुपरयो वास्तवमा संसद अधिवेशनले के गरिरहेको छ ? संसदको अधिवेशन चलाउने कुरामा सरकार मुख्य जिम्मेवारी हुन्छ । अहिलेको गठबन्धन सरकारले संसद कसरी चलाईरहेको छ ? तपाईहरुले फेरी प्रश्न थप्नुहोला सरकार कसरी चलाईरहेको छ ? देश कसरी चलाईरहेको छ ? धेरै यसतर्फ म जान चाहन्नँ । वास्तवमा स्थिति साह्ै राम्रो छैन । धेरै समय लिदिनँ म, तर संसदमा पुग्नु छ । संसदका काम कारबाहीहरुलाई एउटा टुङ्गोमा पुर्याउने कुरामा प्रमुख प्रतिपक्षको जिम्मेवारीको निर्वाह गर्नका लागि हामीले संसदमा पुग्नु छ । 

हामी नपुग्दा सत्तापक्षका साथीहरुले एउटा चाँही निश्चित भन्छन् हेर्नु नि यि प्रमुख प्रतिपक्षका साथीहरुले काम गर्नै दिएन्न, प्रतिपक्षले फिटिक्कै सहयोग नै गरेन्न, यसतर्फ धेरै खण्डन मण्डनमा मलाई धेरै विश्वास लाग्दैन । त्यसैले म आफ्नो स्वभाव अनुसार धेरै खण्डन मण्डन गर्दिनँ तर एक दुइ वटा तथ्य मात्र तपाईहरुसँग राख्न चाहन्छु । तपाई हामीले यति कुरा चाँही हेक्कामा राख्नुपर्छ । मंसिर ४ गते निर्वाचन सम्पन्न भईसकेपछि हाम्रो संसदले संसदका समितिहरुले सभापति कहिले प्राप्त गरे ? तपाई हामी लाग्दा लाग्दा भर्खर ४–५ दिन अगाडी हाम्रा संसदका समितिहरुले सभापति प्राप्त गरे । संसदको समितिको सभापति मात्रै पनिसम्म पनि भर्खर तीन चार दिन अगाडी प्राप्त गर्यो भनेपछि संसदले कसरी काम गर्यो त्यो तपाईको अगाडी मैले धेरै बेली बिस्तार लगाईरहनुपर्छ जस्तो मलाई लाग्दैन । मंसीर ४ गतेदेखि अहिलेसम्मको मितिमा संसदले कति वटा विधेयक पास गर्यो ? 

मैले धेरै समय लिनै पर्दैन । 

संसदको सबैभन्दा ठूलो काम भनेको विधेयक बनाउने हो । विधेयक कस्ले दिन्छ ? सरकारले दिन्छ । संसदलाई बिजनेस दिने काम भनेको सरकारको हो । सरकारका मन्त्री उपस्थित भएन्न भने त्यो बैठक एक मिनेट पनि बस्दैन । अनि त्यो संसदको लागि बिजनेस सरकारले दिन्छ, विधेयक सरकारले दिन्छ । सांसदले बनाएर पेश गर्न सक्छन नि, कोही कोही साथीहरुले भन्नुहोला । म लामो समय लिन चाहन्नँ यति मात्र भन्न चाहन्छु यो देशको संसदको इतिहासमा जम्मा तीन वटा विधेयक मात्र नीजि विधेयक प्रस्तुत भएर पास भए । एउटा शौभाग्ले मेरै विधेयक, कानुनी सहायता विधेयक । त्यसैले निजी विधेयकले संसद चल्दैन । सरकारको बिजनेस चाहिन्छ । मंसीर ४ गतेदेखि अहिलेसम्म यो सरकारले संसदलाई बिजनेस दिन सकेन । 

अरु धेरै भन्नै पर्दैन, अरु धेरै तर्क नै गर्नु पर्दैन । मंसीर ४ गतेदेखि अहिलेसम्म कति वटा विधेयक पास भयो भनेर सोध्नुस् दुई वटा तीन वटा । औला भाँच्न सकिन्छ । त्यो दुइ वटा तीन वटामा बजेटसमेत त्यसैमा पर्छ । बजेट बिनियोजन विधेयक, बिनियोजन विधेयकले बजेटलाई बोक्छ । त्यो विधेयक नै हो तर बजेटलाई हामी धेरै विधेयकका रुपमा गन्ती गर्दैनौ र पनि अहिले मैले गनेँ । योदेखि बाहेक संसदमा सरकारले विधेयकहरु दिन सकेको छैन । 

यहाँहरुले सुन्नुभएको होला नेकपा एमालेले सुन तस्करीलाई लिएर ठूलो संघर्ष गरयो । प्रतिपक्षहरुले संघर्ष गरे । परिणामस्वरुप झण्डै एक महिना संसद चलेन । सरकारले के भन्यो त भन्दा संसदनै चलेन, म यसलाई धेरै ब्याख्या गर्न पटि जान्न तर संसद खुलेको आयोग बनाउने निर्णय भएको दिनको त्यो बैठकको कार्यशुची पल्टाएर हेर्नुस एउटा पनि विधेयक त्यो दिन छैन । त्यसपछाडी ६, ७ दिन पछाडी

संसदको अर्को बैठक बस्यो त्यहाँ पनि विधेयक छैन । यो बिचमा एउटा केहि नेपाल संसोधन विधेयक जस्मा ८१ वटा विधेयक समाहित छ । ८१ वटा विधेयक एउटै विधेयकमा छ योदेखि बाहेक अहिलेसम्म सरकारले एउटा पनि विधेयक दिन सकेको छैन । यति भएपछि मलाई लाग्छ तपाईहरुलाई हाम्रा युवा संघका साथीहरुलाई प्रयाप्त भयो हामीले धेरै भन्नै पर्दैन यो सरकार यस्को यतिसम्मको क्षमता छ मंसीर ४ देखि अहिलेसम्ममा समितिको सभापति बनाउन सक्दैन, भर्खर ३, ४ दिन अगाडी बन्यो । संसदलाई बिजनेस दिन सक्दैन । विधेयक दुईटा तीनटा पास भएको छ । अहिलेसम्म सरकारले विधेयक बनाउन सकेको छैन । त्यसैले अहिले यो देश कसरी चलिरहेको छ ? सरकार कसरी चलिरहेको छ ? संसद कसरी चलिरहेको छ ? म यहाँहरुलाई धेरै ब्याख्या गर्नुपर्छ जस्तो मलाई लाग्दैन । 

एउटा पक्ष त यहाँहरुलाई थाहा छ स्वयं हामी कोशी प्रदेशमा उभिएका छौं । कोशी प्रदेशको केन्द्रमै उभिएका छौं । यो बिचमा सरकारका काम कारबाहीहरु गतिबिधिहरु यहाँहरुलाई छर्लङ्गै छ । हामीले भन्यौँ, यो गलत हो । संविधान बिपरित छ । संसदीय मूल्य र मान्यताको बिपरित छ । विश्वमा कहीँ पनि संसदका सभामुखले सरकार बनाउने काम गर्दैन । संसदका सभामुख भनेका रेफ्री हुन् । भन्नुस त फुटबलको रेफ्रीले आफैं गोल हान्यो भने के हुन्छ ? कोशी प्रदेशमा त्यो गर्नुभयो साथीहरुले । हामीले भन्यौं यो गलत भयो । हामीले भनेको मान्नुभएन । जब सर्बोच्च अदालतमा मुद्दा पर्यो, सर्बोच्च अदालतले हामीले भनेको सही स्थापित गरिदियो । तर पनि टेर्नु भएन, तर पनि मान्नु भएन । दोश्रो पटक त अध्यक्षता गरिरहेका साथीले मत सच्याउनका लागि तीन मिनेटको घण्टि बजाउनुभयो र त्यो तीन मिनेटको बिचमा गएर आफैले मतदान गर्नुभयो । मत सच्याउने भनेको अगाडी गल्ती गरेर तीन मिनेट को समयमा त्यो गल्तीलाई सच्याउने समय हो । कुनै बिबाद रहित कुरा हो यो । हामीले भन्यौँ यो गलत हुन्छ, संविधान बिपरित हुन्छ, बाबा ! यस्तो राजनीति तपाई हामी कोही पनि नगरौं । 

अब कोल्ले गरयो भन्नुहोला म नाम साह्रै बिर्सन्छु, त्यसैले मैले बिर्सिएँ । झल्झली अनुहार चाहिँ याद आउँछ । तपाईहरुलाई थाहा छ तपाईहरुलाई नै छोडे यति भन्छु । यो ढंगले यो देश साथीहरुले चलाई रहनुभएको छ । अब यसको के छ त दबाई ? सोध्नुहोला यसको एउटै दवाई छ तपाई जस्ता युवा मित्रहरु अगाडी सर्नुपर्यो । यसको एउटै दवाई छ यसलाई सच्याउनु पर्यो । यसैले म भन्छु बिनम्रतापूर्वक तर दृढता पूर्वक यि कुराहरु यस्तो गल्ति कमजोरीहरुलाई सच्याउनका लागि अगाडी सर्नुपर्छ । 

त्यसैले तपाई हामीले ढुक्कसँग भन्नुपर्यो, यो ठाउँमा कमजोरी भयो, यसलाई हामी यसरी सच्याउँछौं । तपाई युवाहरुले भन्नुभयो भने जनताले विश्वास गर्छन् । म यो तपाईहरुको महत्वपूर्ण महाधिवेशनको मुखमा तपाईहरुलाई आग्रह गर्न चाहन्छु, तपाईहरु जनताको बीचमा जानोस् र भन्नोस् – हामी राम्रा राम्रा पक्षहरुलाई अगाडि बढाउँछौं । हाम्रा कमीकमजोरीहरुलाई हामी सच्याउँदै अगाडि बढ्छौं । हामी देशलाई एउटा निष्कर्षमा पुर्याउँछौं । अघि हाम्रा कमरेडहरुले भनेको जस्तो आर्थिक सम्वृद्धितर्फ देशलाई लैजानका लागि हाम्रा अध्यक्ष कमरेड प्रधानमन्त्री हुँदा सम्वृद्ध नेपाल सुखी नेपालीको नारा दिएर हामी अगाडी बढेका थियौँ नि, त्यसलाई व्यवहारमा उतार्नका लागि हामी युवाहरु अगाडि बढ्छौं । तपाईहरुले भन्नुभो भने जनताले पत्याउँछन् । तपाईहरुलाई त्यसो गर्न म आग्रह गर्छु । 

आदरणीय मित्रहरु, वास्तवमा हाम्रो नेतृत्व पहल र प्रयासमा हामीले संविधान बनायौँं । संविधान जारी गरयौँ । अव संविधान दिवस ढोकामा आइपुगेको छ । यो अवसरमा यति कुरा म कोट्याउन चाहन्छु हामीले राम्रो संविधान बनायौँँ । तपाईहरुको आशिर्वादले, तपाईहरुको शुभकामनाले, मायाले दुवै पटक संविधानसभाको अध्यक्षता गर्ने, ३१ राजनीतिक दलहरुले सर्वसम्मतिले मलाई संविधानसभाको अध्यक्ष बनाए । हाम्रो नेतृत्व, पहल र प्रयासमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक समाजवादउन्मुख संविधान हामीले बनायौँं र जारी गर्यौं । हामीले ढुक्कसँग, बिनम्रतासँग, कुनै अहम नराखीकन जनताको बिचमा यो कुरा भन्न सक्नुपर्छ जनताले जनताको लागि बनाएको संविधान त्यो संविधान पहिलो पटक नेपालको इतिहासमा विश्वकै सन्दर्भमा हामीले समावेशी संविधान बनायौँ, समाबेशी संविधानसभाबाट शुन्यबाट माथि उठ्दै सहभागितामूलक ढंगले जनताले जनताका लागि हामीले संविधान बनायौँं । 

नेपालको संविधान हाम्रो नेतृत्वमा पहल र प्रयासमा जनताले बनाएको संविधान हो । तराई मधेशदेखि हिमालसम्मका जाती भाषा धर्म र सँस्कृतिका जनतालाई देखाएर भन्नुहोस यो लिम्वूले बनाएको संविधान हो, यो राईले बनाएको संविधान हो, यो ब्राम्हणले बनाएको संविधान हो, यो क्षेत्रीले बनाएको संविधान हो, यो दलितले बनाएको, महिलाले बनाएको तराई मधेश र हिमालसम्मका सबै जाती भाषा, धर्म र सस्कृतिका जनताले बनाएको संविधान हो । संघीय लोतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता समाबेशिता फेरी म दोहोर्याउछु पहिलो पटक नेपालको इतिहासमा समाबेशी संविधान बन्यो अनि संविधान समाबेशी बनाउने पार्टीलाइ, संविधान समाबेशी बनाउने पहिलो पटक नेपालको इतिहासमा त्यो पार्टीलाई तँ समाबेशी भइनस भनेर कोही मित्रले भन्छ भने तपाई हामीले कसरी लिनुपर्छ होला ? ढुक्कै भएर अगाडी बढनुस कमरेडहरु, युवा मित्रहरु यो देशको इतिहासमामा मात्र होइन विश्वकै इतिहासमा यत्तिको समाबेशी संविधान बनेको छैन । 

ब्यबहारमा कार्यावन्यन गर्ने सन्दर्भमा सम्बन्धित कानुन निर्माण गर्ने सन्भर्दमा त्यसलाई ब्यबहारमा उतार्ने सन्दर्भमा कहिँ कतै कमिकमजोरी भएका होलान, ती कमिकमजोरीहरु हामी सच्याउँछौँ, अघि बढ्छौँ भनेर अगाडी बढ्दा समाबेशी संविधान बनाउने पार्टीलाई, त्यसका नेतालाई यो चाहिँ समावेशी भएन भनेर कसैले चुनौती दिँदैमा हामीले निधार खुम्च्याउनुपर्ने हो र ? हामीले त हाँसेर ढुक्क भएर भन्नुपर्छ हामीले यति काम गरेका छौं, लौ भन । म त भन्ने गर्छु, न भूतो, न भविश्यति । पहिचानको दुनियाँमा समावेशिताको सन्दर्भमा, पहिचानको सन्दर्भमा यो देशमा हामीले जति काम गरेका छौं, त्यति अरु कसैले पनि गर्नुभएको छैन । कसैलाई मैले हेपेको हैन । 

हामीले मौका पायौं, हामीले गरेर देखायौं । भन्नोस् धर्म निरपेक्षता कसले घोषणा ग¥यो ? धर्म निरपेक्षता हामीले घोषणा गर्यौं । जेठ ४ गतेको घोषणामा धर्मनिरपेक्षता घोषणा भयो, यहाँहरुको आशिर्वाद र शुभकामनाले त्यो पुनस्र्थापित प्रतिनिधिसभाको मै सभामुख थिएँ । निर्विवाद, सर्वसम्मतिले म सभामुख थिएँ । त्यहाँबाट घोषणा भयो । कोही कोही साथीभाइहरुले सुवासले खुसुक्कै धर्म निरपेक्षता छिराइदियो पनि भने । म त्यतातिर जान चाहन्नँँ । त्यस्ता केही साथीहरु हिजो अस्ति चुनावमा पनि पुगेका थिए । यो पटक त दक्षिणपट्टिबाटसम्म केही साथीहरु आउनुभयो रे यो धर्मनिरपेक्ष भनेर घोषणा गर्ने सुवासलाई हराउनुपर्छ भनेर । मलाई थाहा छैन । म अलिक बिर्सने मान्छे । को साथीहरु हुन् ? के हुन् ? कसो हुन् ? कुनै दिन तपाईहरुसँग समय लिएर अलि व्यापक रुपमा भनौंला यसबारेमा । 

म कहिल्यै रिस नउठ्ने मान्छे, त्यसैले रिसाइनँ । तर, अलिअलि भित्र रिस उठ्यो होला, मैले जम्मै कुरा सुनाएर के भनें त भन्दा यी साथीहरु, जसले ममाथि यस्तो आरोप लगाइरहेका छन्, म त कम्युनिष्ट परें, एमालेको इमान्दार कार्यकर्ता, मलाई त स्वर्ग– नर्कमा विश्वास छैन । तर, यी साथीहरु त विश्वास गर्छन् होला । नर्क छ भने यी साथीहरुचाहिँ सोझै नर्क जान्छन् भन्दिएँ मैले । त्यत्ति रिसाएको त भएन नि हैन ?

मैले छोटकरीमा भन्न खोजेको कुरा– यति काम गर्ने नेकपा एमालेमाथि यो प्रश्न उठ्न सक्छ ? हामीले गरेका हौं धर्म निरपेक्षता । समावेशीता हामीले बनाएका हौं । अनि यो ठाउँमा शिर ठाडो पारेर छाती फुकाएर विनम्रतापूर्वक म आग्रह गर्न चाहन्छु– किराँतहरुका महागुरु फाल्गुनन्दलाई यो देशको राष्ट्रिय विभूति मेरो पहलमा, हाम्रो पार्टीको पहलमा, हाम्रो पार्टीको नेतृत्वमा हामीले घोषणा गरेका हौं । अब फाल्गुनन्द किराँतीहरुको मात्र रहेनन्, उनी सिंगो देशको, सबै जाति भाषा धर्म संस्कृतिका जनताको महागुरु भए । यति काम गर्ने पार्टीलाई भन्नुस् त, पहिचानविरोधी भन्न मिल्छ ?

ठीक छ, हिँड्ने क्रममा कहीँ कतै अलिकति कमजोरी भयो कि भन्नु, छलफल गर्नु एउटा कुरा हो, तर पहिचानविरोधी भन्ने, अनि कोको साथीहरुले ढुंगा हान्ने, म त कस्ले हाने त्यो पनि बिर्सिसकें मैले । ढुंगा चाहिँ हानेका हुन् है । किनभने, बुधबारेमा ढुंगा खाँदाखेरि म पनिसँगै थिएँ अध्यक्ष कमरेडसँग । 

पाँच÷सात दिन पछाडि एउटा भाइले फोन गरे मलाई– दाइ तपाई पनि हुँनुहुँदोरहेछ, तपाईलाई चाहिँ हिर्काएको हैन है ढुंगा रे । मलाई यो तरिका फेरी खुबै मन प¥यो क्या । मन परेको कुरा मन प¥यो भन्छु । सँगै गाडीमा हिँडेको छ अध्यक्षसँग । गटङटङ असिनाजस्तो ढुंगा बर्सिएको छ । त्यो चाहिँ केपी ओलीमाथि मात्रै हो, तँलाई चैं हैन है भनेपछि हेर्नोस् त ! भन्नेले भनिगए । म पनि सोझो, मैले पत्याएँ नि त । 

म धेरै यसमा समय लिन्नँ । एक जना हाम्रा ताप्लेजुङतिरको लिम्बु डीएसपी, बल्ल बल्ल डीएसपी भएका थिए बिचरा । त्यो ढुंगाले धेरै होइन, १७ टाँका । टाउकोमा १७ टाँका लाग्यो । अर्को एक जना हवल्दार विचरा राजवंशी परेछन्, उनको यो च्यापु नै भत्कियो । प्लेट लगाएर उनलाई उपचार गर्न राखिराखेको थियो । म भेट्न गएको थिएँ । र यतिमात्रै मेरो मुखबाट फुत्त निस्कियो– हैन यो पहिचानको ढुंगा त खतरनाक हुँदोरहेछ !

मलाई विश्वास छैन, यो पहिचानको ढुंगा हो भनेर । तर, यो पहिचानको ढुंगा त खतरनाक हुँदोरहेछ । ठ्याक्कै ताप्लेजुङको लिम्बु डीएसपीलाई लाग्ने । झापाको राजबंशी हवल्दारलाई लाग्ने ! कस्तो खालको ढुंगा हो यो ? यति सुनाएर अब म धेरै समय लिन्नँ । 

यो कसैका लागि पनि हितमा छैन । म आग्रह गर्न चाहन्छु साथीभाइहरुलाई– यो ढुंगा हान्ने कुरा गलत हो । लोकतन्त्र बिपरितका यस्ता, मूल्य मान्यता विपरीतका यस्ता काम कारवाहीहरु जहाँबाट भएको हो, त्यसलाई रोकौं । लोकतान्त्रिक विधि प्रक्रियाका वमोजिमका काम कारवाहीहरु गर्नुहोस् । कुनै कुरामा मेरो बारेमा चित्त बुझेन, विरोध गर्नोस् । हाम्रो पार्टीको बारेमा चित्त बुझेन, विरोध गर्नोस् । तर लोकतन्त्रको मूल्य र मान्यतालाई तपाई हामीले बलियो बनाउँदै लिएर जानुपर्छ । यो नै देश र जनताको हितमा छ । 

म अरु धेरै समय लिन्नँ । अन्तिमतिर म आउँदै छु । 

मैले भने तपाईं–हामी सबैले भन्छौं, यो देश हेर्नोस् त, हाम्रो छिमेकी भारत दास बन्यो । हामी पटक पटक चर्चा गर्छौ, तर नेपाल, हामी कहिल्यै पनि दासतामा परेनौं । स्वतन्त्र रह्यौं । र अहिले भर्खरै हामीले ८ वर्ष अगाडि संविधान बनायौँं । जनताले जनताका लागि । राष्ट्रिय झन्डा पास गर्यौं । कुनै बेलामा यसका बारेमा तपाईहरुसँग बसेर छुट्टै छलफल गरौंला । चन्द्रमा र सूर्यअंकित झन्डा । त्यतिबेला छलफल चलेको मलाई सम्झना छ, यो तीनकुने झन्डा भएन यसलाई फेर्नुपर्छ । यो चन्द्रमा र सूर्य भएन । चन्द्रबंशी र सूर्यबंशी कुनै राजाको यसमा त पसीना गन्हाउँछ ! संविधानसभामा छलफल चलेको थियो । कसले उठायो भन्नुहोला, म साह्रै बिर्सने । धुमधाम छलफल चलेको थियो, कसले उठायो, उठायो । तर, धुमधाम छलफल भइसके पछाडि हामीले प्रस्ताब राख्यौँ, मैले नै प्रस्ताव राखें– जबसम्म आकाशमा चन्द्रमा र सूर्य रहन्छ– तबसम्म नेपालको अस्तित्वलाई कसैले केही गर्न सक्दैन । यो भनेर यसलाई पास गरौं न । नेपालको राष्ट्रिय झन्डा पास भयो । अहिले हामी राष्ट्रिय झन्डा बोकेर हिँडिरहेका छौं । 

नेपालको नामै परिवर्तन गरौं भन्ने पनि छलफल चल्यो । कुनै दिन यसका बारेमा तपाईहरुसँग बसेर सल्लाह गरौंला । छलफल गरौंला । मैले यति भनेर यहाँहरुसँग राख्न खोजेको कुरा के हो त भन्दा हाम्रा छिमेकका त्यत्रा ठूला देश दास बन्न पुगे तर नेपाल कहिल्यै, कसैको दास बनेन । सदा सर्वदा स्वतन्त्र रह्यो । किन थाहा छ ? यसको एउटै कारण हो, तराई मधेसदेखि हिमालसम्मका सबै जाति, भाषा, धर्म संस्कृतिका जनता एक ठाउँमा, एकजुट भएर उभिएका छन् । त्यसैले नेपालले कसैको पनि दास बन्नुपरेन । तर, त्यसको विरुद्धमा कता–कता कहिलेकाहीँ षड्यन्त्र भइरहेको छ कि भन्नेदेखिन्छ । यसको दबाई के ?

यसको दबाई पनि हाम्रा युवाहरु हुनुहुन्छ । तपाईले यो कुरालाई लिएर जनताको वीचमा पुग्नुपर्छ । जनतालाई एकजुट बनाउनुपर्छ । तराई मधेसदेखि हिमालसम्मका विविध जाति, विविध भाषा भएकाहरु, विविध धर्म भएकाहरु, विविध संस्कृति भएकाहरु अघि हेर्नुस् त कति राम्रो कति मीठो डान्स, मीठो नृत्य, अरु पनि नृत्य सायद तयार होला, मैले हेर्न पाउने छाँट छैन, यस्ता नृत्यहरु, बिबिध संस्कृतिहरु यी सबैलाई एक ठाउँमा उभ्याएर देशलाई एकजुट बनाउने हो भने कसैको पनि षड्यन्त्र सफल हुँदैन । यसका लागि युवा संघको काँधमा जिम्मेवारी छ । 

यति कुरा म राखेर प्रमुख अतिथि हुनुहुन्छ भनेर मलाई समय छोडिदिने साथीहरुले धेरै कुरा भनिसक्नुभएको हुनाले साँच्चिनै अव धेरै कुराहरु यहाँहरुको बिचमा राख्दिनँ । तपाईहरु अगाडी बढनोस्, नेकपा एमाले सबै प्रकारका चुनौतीहरुलाई पराजीत गर्दै उभिएको छ । बेला बेलामा कमिकमजोरीहरु हामीबाट भएका होलान त्यस्ता कमिकमजोरीहरुलाई सच्याँउदै, मैले ठट्टामा भनेको थिएँ कहिलेकाँही सबै एक ठाउँमा उभिएका छन् हामीलाई एक्लै बनाउन खोजेका छन् तर त्यस्तो बेलामा पनि हामीले एक ढिक्का बनाएर अघि बढ्न खोज्दा नेकपा एमाले फेरी पनि बिजयी बनेर अगाडी देखा परेको छ ।

अलि अलि खुटटा धर्मराएको, कहिले काँही हिड्दा आफ्नै खुट्टामा अल्झिएर हुन्छ नि, मैले भन्ने गरेको छु यस्ता कुराहरुलाई पनि सच्याएर अगाडी बढ्दा हामीलाई कसैले पनि हाम्रो यात्रालाई अबरुद्ध गर्न सक्दैन भन्ने विश्वास ब्यक्त गर्दै तपाईहरु जुन ढँगले यहाँ उठेको मैले पाएँ, जुन ढंगले यहाँहरु अगाडी बढ्नुभएको छ त्यसबाट म आश्वस्त र विश्वस्त भएको छु अब तपाई हामी अगाडी बढ्यौँ, यहाँहरुले पार्टीलाई अगाडी बढाउने हुनुभयो यति विश्वास ब्यक्त गर्दै यहाँहरुलाई म बधाई दिन्छु, यहाँहरुलाई म धन्यबाद दिन्छु यहाँहरुलाई शुभकामना दिन्छु र यहाँहरुका यस्ता प्रत्येक काम कारबाहीमा तपाईहरुलाई साथ सर्मथन र सहयोग छ भनेर उभिन पाउँ । यति आग्रहका साथ म तपाईहरुबाट बिदा चाहन्छु ।

हवस्त त धन्यबाद । नमस्कार । 

(संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले २०८० भदौ २३ गते सुनसरीको धरानमा गरेको आफ्नो जीवनको अन्तीम भाषण । एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको प्रथम अधिवेशनको उद्घाटन गर्न आएका बेला नेम्वाङले युवाहरूलाई सम्बोधन गरेका थिए । अहिले उनकै निर्वाचन क्षेत्रबाट उनका छोरा सुवास प्रतिनिधिसभा उम्मेदवार बनेका छन् ।)