काठमाडौँ । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रु बहाक डबल डेकर बस दुध ट्याङ्करमा ठोक्किएर दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएका छन् ।
उत्तर प्रदेशको राजधानी लखनऊबाट करिब ६८ किलोमिटर पश्चिममा उन्नाओ जिल्लाको गाढा गाउँ नजिकैको लखनऊ–आगरा एक्सप्रेस वेमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार बिहारको सीतामढीबाट दिल्ली जाँदै गरेको डबल डेकर बसले पछाडिबाट दुधको कन्टेनरमा ठोक्किएपछि दुर्घटना भएको हो ।
बुधबार बिहान बिहारको मोतिहारीबाट आउँदै गरेको निजी यात्रु बस यहाँ राष्ट्रिय राजमार्गमा दूध ट्याङ्करसँग ठोक्किएको हो ।
दुर्घटनामा १८ जनाको ज्यान गएको र अन्य १९ जना घाइते भएका उन्नाओ जिल्ला मजिस्ट्रेट गौराङ राठीले मिडियालाई बताएका छन् । प्रारम्भिक अनुसन्धानले बस अत्यधिक गतिमा रहेको औंल्याएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उचित उपचार सुनिश्चित गर्न अधिकारीलाई निर्देशन दिएका छन्।