देशभर आज थप १०६ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

न्युजलय २८ चैत २०७९, मङ्गलबार ०७:२८ मा प्रकाशित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४३६ नमुनामध्‍ये ४७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १ हजार ९६० जनाको एन्टीजेन परीक्षण गर्दा ३२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कोरोनाको संक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ । 

यस्तै, कोरोना संक्रमणका कारण तीन महिनापछि आज मंगलबार एक जनाको मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार बिहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी करिब ३ साताअघि अस्पताल भर्ना भएका थिए । 

यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियो ।   

काठमाडौं उपत्यकामा हाल संस्थागत आइसोलेशनमा २४ जना र आईसीयूमा १३ जना रहेका छन् भने ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

आज मात्रै ४८ जना कोरोनाका बिरामी निको भएर घर फर्किएका छन् ।