पाङबारी हिमाल चढ्न गएका दुई इटालियन आरोहीको शव फेला

न्युजलय १९ कार्तिक २०८२, मङ्गलबार ०१:०० मा प्रकाशित

गोरखा । गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ । 

पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुवै जनाको शव  हिउँले पुरिएको अवस्थामा फेला परेको बताइएको छ । 

आरोहीको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ । पाङबारी हिमालबाट फर्कने क्रममा तीन इटालियन नागरिक र एक नेपाली सहयोगी गत बुधबारदेखि पहिलो शिविर र आधार शिविरमा अलपत्र परेका थिए । फरिनातो र गापुटो  हिमाल आरोहण गर्न नसकेपछि फर्कने क्रममा हिमपातका कारण अलपत्र परेका बताइएको छ । 

उनीहरूसँगै अलपत्र परेका इटालियन नागरिक ६५ वर्षीय भेल्टर परलिनोको भने गत आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उनको साथमा रहेका नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि सोही दिन हेलिकोप्टरबाट उद्धार गरी उपचारकालागि काठमाडौँ पठाइएको बताइएको छ ।