भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागी ५४ करोड ७९ लाख ३८ हजार रुपैयाँको बजेट पेश गरेको छ ।
गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा सम्पन्न १९ औं अधिवेशनको पहिलो बैठकबाट वार्षिक नीति तथा कार्यक्रम र आर्थिक विधेयक, विनियोजन विधेयक २०८३ सर्वसम्मत पारित गरिएको हो ।
सभामा उपाध्यक्ष सुनिता किरातीले प्रस्तुत गर्नुभएको विनियोजन विधेयकमा किसानको उत्पादन वृद्धि, बजारीकरण तथा आयआर्जनमा टेवा पुर्याउने उद्देश्यका साथ भौतिक पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
गाउँपालिका भित्रको आर्थिक पारदर्शिता र सुशासनलाई थप सुदृढ तथा परिपक्व बनाउन सार्वजनिक लेखा समिति मार्फत बेरुजु फर्च्युट सम्बन्धी प्रस्ताव पेश भई पारित भएको छ। यस निर्णयले पालिकाको प्रशासनिक तथा वित्तीय पाटोलाई थप जवाफदेही बनाउने अपेक्षा गरिएको पालिका अध्यक्ष प्रेमकुमार राईले उल्लेख गर्नुभयो ।
सभामा प्रस्तुत बजेट तथा कार्यक्रम माथि आवश्यक छलफल गरी पारित गरिने जनाइएको छ।