काठमाडौं । नेपाली क्रिकेट टोली एसिया कपको दोस्रो खेल खेल्न बिहीबार श्रीलङ्का पुगेको छ । समूह ‘ए’ अन्तर्गत आयोजक पाकिस्तानसँगको खेलपछि नेपाली टोली भारतसँगको खेलका लागि श्रीलङ्का गएको हो ।
नेपालले दोस्रो खेल भदौ १८ गते अर्को भारतसँग श्रीलङ्काको क्यान्डीमा प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानसँगको हारले नेपालको अघिल्लो यात्रा कमजोर बनेको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा बुधबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो ।
एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछन् । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलङ्कामा सञ्चालन हुँदैछ । भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि एसिया कपका खेल पाकिस्तान र श्रीलङ्कामा सञ्चालन गरिएको हो ।