झापामा एसएलआरका ५५ थान गोली खेतमा भेटियो

न्युजलय २६ असोज २०८२, आइतबार ०८:४८ मा प्रकाशित

झापा । झापाको कमल गाउँपालिका–७ रङ्गपुरमा एसएलआर राइफलका ५५ राउन्ड गोली फेला परेका छन्।


शुक्रबार साँझ करिब ७ बजे स्थानीय ५५ वर्षीय गङ्गाप्रसाद पाण्डेले खेतमा सेतो बोराभित्र गोली भेट्टाएका थिए ।


जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार झापामा जेन–जी आन्दोलनका क्रममा लुटिएका २४ थान हतियार, ५ हजार ६ सय ९० राउन्ड गोली र १८० सेल अश्रुग्यास मध्ये केही अझै फिर्ता भएका छैनन्।


प्रहरी स्रोतकाअनुसार दमक कार्यालयबाट लुटिएका लामो नाल (एसएलआरलगायत) १४ थान र ४ हजारभन्दा बढी गोली, दुई साना हतियार (पेस्तोल–रिभल्वर) र ४० राउन्ड गोली, साथै ४ थान सर्टगन/ग्यासगन र १८० सेल ग्यास अझै फिर्ता भएका छैनन्।


त्यस्तै, बिर्तामोड कार्यालयबाट लुटिएका एक थान एसएलआर र १,५०० भन्दा बढी गोली, तीन साना हतियार र १५० भन्दा बढी राउन्ड गोली समेत हराइरहेका छन्।