फिल्म ‘जेरी अन टप’ को ट्रेलर सार्वजनिक

न्युजलय २४ असोज २०८२, शुक्रबार ०३:२८ मा प्रकाशित

काठमाडौं । फिल्म ‘जेरी अन टप’ को ट्रेलर सार्वजनिक भएको छ।

असोज ३१ देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको शुक्रबार ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु र कलाकारहरूको चरित्र चित्रणबारे जानकारी दिएको छ। एडभेन्चर लभस्टोरी ‘जेरी अन टप’ सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित छ। यसले त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गर्छ। 

फिल्ममा अनमोलसँगै आँचल शर्मा र जसिता गुरूङ मुख्य भूमिकामा छन्। साथमा केदार घिमिरे, भुवन केसी, उषा खड्गीलगायत कलाकारहरूको पनि अभिनय रहेको छ। ट्रेलर रिलिज कार्यक्रममा अभिनेता अनमोल भने बिरामी भएका कारण उपस्थित हुन सकेनन्।

अनन्या फिल्म्स प्रोडक्सनबाट निर्मित ‘जेरी अन टप’ सुयोग गुरूङले निर्देशन गरेका हुन्। सरोज न्यौपानेको प्रस्तुति रहेको फिल्मको निर्माणमा न्यौपानेसँग भविष्य खड्का, रोबिन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले लगानीमा साझेदारी गरेका छन्।

तिहारको अवसर पारेर फिल्म प्रदर्शनमा आउन लागेको हो।