घोडेटार । भोजपुरको हतवागढी गाउँपालिकाले तीन बर्थिङ सेन्टरमा ‘बेबी वार्मर’ मेसिन जडान गरेको छ ।
नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर (न्यानो नानी) मेसिन जडान गरिएको हो ।
शुक्रबार गाउँपालिकाले वडा नं १ को प्राथमिक स्वास्थ्य केन्द्र घोडेटार, वडा नं ६ को स्वास्थ्य चौकी होम्ताङ र वडा नं ८ को स्वास्थ्य चौकी पात्लेपानीमा उक्त मेसिन जडान गरेको छ ।
विशेष गरी दुर्गम क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र सो कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने भएकाले जोखिम न्यूनीकरण र शिशुको जीवनरक्षाको लागि बेबी वार्मर मेसिन जडान गरिएको हतुवागढी गाउँपालिका स्वास्थ्य शाखा सह(संयोजक मातृकाप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार गाउँपालिका अन्तर्गत चार स्थानमा बर्थिङ सेन्टर सञ्चालन रहेको छ । जस अन्तर्गत वडा नं ९ को हसनपुर स्वास्थ्य चौकीमा शिशु जन्मदर कम रहेकाले जडानका लागि यस आर्थिक वर्ष पेश नगरिएको तर क्रमिक रूपमा जडान गरिने योजना रहेको छ ।
बर्थिङ सेन्टरहरूमा उक्त मेसिनहरु जडान पश्चात् प्रसूति सेवा लिन आउने प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन् ।