काठमाडौं । कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो)मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार (आज) राति नेपाल आइपुग्ने भएको छ । क्यासिनोमा आगलागी हुँदा होटलको १२औं तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो ।
कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो । तर शव ल्याउने प्रक्रियाका लागि नेपालबाट पाण्डेको आवश्यक कागजात पठाएसँगै कम्बोडियाले शवको प्रमाणीकरण गरेपछि उनको शव शुक्रबार थाइल्यान्ड हुँदै नेपाल ल्याइने बताइएको छ ।
निराकारका बुवा अग्नि पाण्डेका अनुसार थाइल्यान्डबाट नेपाल एयरलायन्समा उनको शव नेपाल ल्याइँदै छ । शव शुक्रबार राति १०ः३० बजे काठमाडौँं आइपुग्ने र राति नै शव झापा ल्याउने तयारी गरिएको नेकपा एमालेका बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । नगर अध्यक्ष भट्टराईका अनुसार पाण्डेको शव शनिबार झापा आइपुग्ने भएको छ ।