हतुवागढीको शिरमा मुस्कुराएको ‘पदमार्ग’

न्युजलय ८ असोज २०८०, सोमबार ०३:०६ मा प्रकाशित

घोडेटार । दृश्यमा निर्माणाधिन पदमार्ग देख्न सक्छौं । हतुवागढी गाउँपालिकाको जोरआहाल, शंखामचुली र दिमालुङलाई जोड्ने पर्यटकीय पदमार्ग समुद्री सतहदेखि करिब १ हजार ८ सय ६५ मिटरको उचाइमा रहेको छ । 


तराईका जिल्ला देखि ६५ किलोमिटरको दुरीमा रहेको हतुवागढी क्षेत्र आवतजावतका लागि आवश्यक पक्की पुलहरु निर्माण हुन नसक्दा ओझेलमा परिरहेको छ । पर्यटकलाई सहज ढंगको यातायात सुविधा व्यवस्था भएमा धनकुटाको भेडेटार र इलामको कन्याम बिर्साउन सक्छ भन्दा फरक नपार्ला । पर्यटन व्यवसायका लागि गाउँ छाडेका स्थानीय फर्किन सक्नेछन् । उही हतुवागढीमा निर्माणाधीन पदमार्ग दृश्यमा देख्न सक्छौं । 


भोजपुर जिल्लाको पूर्वी दक्षिण सिमानामा अवस्थित हतुवागढी क्षेत्र किरातहरुले शासन गरेको ऐतिहासिक भुमिको रुपमा प्रसिद्ध छ । साबिकका  रानीबास, होम्तंग, खैरंग, सिन्द्रंग, पात्लेपानी र हसनपुर ६ गाविस मिलि अहिलेको पूर्ण हतुवागढ़ी गाउँपालिका बनेको हो । हतुवागढी गाउँपालिकाले यही पदमार्गमा वृक्षरोपण गरे सँगै पालिका स्तरीय श्रमअभियानको आरम्भ गरेको हो । 


हतुवागढी  गाउँपालिकाको १ करोड ३४ लाख रुपैयाँको लागतमा निर्माणाधिन पदमार्गको थप विकास र विस्तारका लागि गाउँपालिका र केन्द्र सरकारको साझेदारीमा १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । पदमार्ग बीच भाग अर्थात शंखामचुली डाँडामा तीन तले भ्युटावर निर्माण गरिएको छ । व्यवस्थित शौचालय सहितको उक्त भ्युटावर पुग्न मोटरबाटो समेत जोडिएको छ । पदमार्ग यात्रा सँगै तराईका फाँट, विभिन्न मनोरम हिमश्रृंखला नियाल्न सकिन्छ । मौसम अनुसारका फूलहरु फुलिरहेका हुन्छन्, फूलेका गँरास, फलेका काफल र आँखैमा हतुवा पदमार्ग अविस्मरणीय क्षण बन्नेछ । पदमार्ग निर्माण सम्पन्न भएसँगै आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोतको रुपमा जोड्न सकिने छ ।