जाजरकोटमा शुक्रबार राति ४ पटक भूकम्प, ३६ जनाको मृत्यु, १०० बढी घाइते

न्युजलय १८ कार्तिक २०८०, शनिवार ०५:५७ मा प्रकाशित

काटमाडौं । भूकम्प पछि घर भत्केर जाजरकोटमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।


जाजरकोटका डीएसपी सन्तोष रोकायले भूकम्पमा परी ३६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ । 


झन्डै १०० जना घाइते भएको र उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।  घाइतेमध्ये ७ जनालाई उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ ।


जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति चार पटक ६.४,४.८,४.२, ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पछि ठाउँ-ठाउँमा पहिरो गएको जाजरकोट प्रहरीले जनाएको छ। पहिरो जाँदा जाजरकोट-डोल्पा सडकको रिम्ना सडकखण्ड अवरुद्ध भएको छ ।


यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटै सुरक्षा निकायलाई उद्दार र राहतमा जुट्न निर्देशन दिएका छन् । उनले घाइतेको तत्काल उद्दारका लागि सबै संयन्त्रहरूलाई सक्रिय काम गर्न भनेका छन् । 


घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन् । घाइतेहरूको उद्धारका लागि शनिबार बिहानै औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भैरहेको हेलो सरकारले जानकारी दिएको छ ।