वीरगञ्ज नाकाबाट हवाई इन्धन र ग्यासको आयात घट्यो

न्युजलय २० साउन २०८१, आइतबार ०८:२२ मा प्रकाशित

पर्सा ।  वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इनधनमा कमी आएको छ । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो ।

आव २०७९–८० मा वीरगञ्ज नाका प्रयोगगरी ३३ अर्ब १३ करोड रुपैयाँ बराबरको दुई लाख ९० हजार दुई सय ८७ मेट्रिकटन खाना पकाउने ग्यास आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार अघिलो आवमा वीरगञ्ज नाकाबाट १७ अर्ब ३१ करोड रुपैयाँको पाँच लाख ९७ हजार एक सय ४४ किलोलिटर(केल) हवाई इन्धन आयात भएकामा गत आवमा १८ अर्ब २१ करोड रुपैयाँको एक लाख ७३ हजार चार सय ८४ केल आयात भएको छ ।

खाना पकाउने ग्यास र हवाई इन्धनको आयातमा सङ्कुचन देखिए पनि नेपालमा सबैभन्दा बढी इन्धनका रुपमा उपयोग हुने डिजल र पेट्रोलको आयात भने बढेको कार्यालयले जनाएको छ ।