काठमाडौँ । रोल्पामा विषालु जंगली च्याउ खाँदा एकै घरका दुई जनाको मृत्यु भएको छ।
परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र उनकी पत्नी ७३ वर्षीया नर्मला ओलीको विषालु च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
भागिरामले मङ्गलबार बारीमा भेटेको च्याउ खाएपछि दम्पती नै बिरामी भएका थिए।
सुरुमा गाउँकै मेडिकलमा उपचार गरिएको भए पनि ठिक नभएपछि दाङको घोराही स्थित गोरखा अस्पतालमा लगिएको र त्यहा उपचार नभएपछि दाङकै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
उपचारका क्रममा नर्मलाको शनिवार र भागिरामको आइतबार निधन भएको बताइएको छ ।
अहिले दुवैको शवलाई पोस्टमार्टमका लागि प्रतिष्ठानमै राखिएको प्रहरीले जनाएको छ।