हरिनगरका २० विपन्न परिवारलाई घर हस्तान्तरण

शंकर खत्री ३ माघ २०७८, सोमबार ०६:१४ मा प्रकाशित

इटहरी । सुनसरीको हरिनगर गाउँपालिकाका २० विपन्न परिवारलाई पक्की घर हस्तान्तरण गरिएको छ । गाउँपालिकाको घुस्किमा रहेका २० विपन्न परिवारलाई कतार च्यारीटीको आर्थिक सहयोगमा घर हस्तान्तरण गरिएको हो । 


सोमबार प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवले एक कार्यक्रमका बिच विपन्न परिवारलाई घर हस्तान्तरण गरे । कतार च्यारीटीले दुई वटा सुत्ने कोठा, एक बैठक कोठा, एउटा भान्सा कोठा र ट्वाइलेट बाथ्रुमसहितको घरसँगै खानेपानीका लागि पानी ट्यांकी पनि निर्माण गरेको छ । 


यी सबै संरचनाको कुल लागत दुई करोड २३ लाख ८० हजार रहेको कतार च्यारीटी नेपालका कार्यवहाक निर्देशक इर्शाद अलि शेखले जानकारी दिए । एक वर्षमा नै निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोनाका कारण ढिलाई भएको उनले जानकारी दिए । 


घर हस्तान्तरण कार्यक्रममा मन्त्री यदवसहित सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रवेद यादव, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको पनि उपस्थिति रहेको थियो । घर हस्तान्तरणसहित त्यहाँका महिलालाई आत्मनिर्भर बनाउने उदेश्यका साथ तीन महिने सिलाई कटाइ तालिम पनि सुभारम्भ भएको छ ।