प्रयागराज कुम्भ र चतरा कुम्भ

हिमाल दाहाल ४ माघ २०८१, शुक्रबार ०९:३१ मा प्रकाशित

१४४ वर्षमा एक पटक हुने महाकुम्भ प्रयागराजमा आजको मितिमा जारी छ । ६-६ वर्षमा हुने कुम्भ अर्धकुम्भ र १२-१२ वर्षमा हुने कुम्भ पूर्ण कुम्भ रहेछ । अहिले भइरहेको चाहिँ महाकुम्भ । पुस २९ गतेबाट सुरु भएको महाकुम्भ फागुन १४* गते सकिँदैछ ।


महाकुम्भको धार्मिक महत्व त आफ्नो ठाउँमा छ नै, व्यवस्थापन र पत्रकारिताको विद्यार्थी भएको नाताले मेरो खास चासो अलग छ । 


महाकुम्भको लागि उत्तरप्रदेश सरकारले साढे ५ खर्ब रुपैया खर्च गरेको छ भने केन्द्र सरकारले २ खर्ब । ४० करोड मानिस पुग्ने अनुमान गरिएको महाकुम्भ सकिँदासम्ममा प्रदेश सरकारले भाडा तथा करवापत मात्रै २५ खर्ब रुपैया कमाउने अनुमान गरिएको छ । त्यसबाहेक स्थानीय व्यवशायीहरुले कमाउने त झन् कति हो कति । व्यवसायीहरुले एक रातको  १० हजार रुपैयादेखि १ लाख रुपैयाभन्दा बढी पर्ने गरी टेन्ट, डोमहरु भाडामा लगाएर कमाइरहेका छन् । त्यसो त पैसा नहुनेका लागि निःशुल्क आवासको पनि व्यवस्था छ । भारतका मन्दिरहरुमा पैसा नहुनेहरुले पनि राम्रो सँग सुत्न र खान पाउँछन् । त्यसैले तीर्थयात्राको लागि भारत सजिलो गन्तव्य मानिन्छ ।


अब हामी हाम्रो चतरामा हुने कुम्भको कुरा गरौं । 


यी दुई कुम्भलाई आकार र एतिहासिकता को आधारमा दाँज्न खोजिएको छैन । किनकी प्रयागराज कुम्भ निकै पुरानो हो । कहिलेदेखि सुरु भयो भन्ने पनि यकिन छैन । डेढ सय वर्षअघिदेखि चाहिँ कुम्भ मेला भनेरै सुरु भएको इतिहास छ । जबकि चतरामा हुने कुम्भ सुरु भएको भर्खर २५ वर्ष पनि पुगेको छैन । यी दुई कुम्भको तुलना आकारको हिसाबमा हुन सक्दैन ।


त्यसैले मैले आधारभुत तयारी र सामान्य व्यवस्थापकीय पाटोबाट मात्र मैले चतरा कुम्भका केही कुराहरु राखेको छु ।


चतरा कुम्भ जसोतसो बालसन्तजी महाराजले सुरु गर्नुभयो । चर्चा र समर्थन पनि पायो । हिन्दू गुरुहरूबाट पाएको यो समर्थन नेपालकै लागि उपलब्धिमूलक हो ।


तर तीन तहको सरकार, निजी क्षेत्र, संघसंस्था र संगठनहरु हुँदा हुँदै पनि हाम्रो व्यवस्थापन र अर्थनीति चाहिँ भद्रगोल बन्यो । अझ चतराका गुरुजीहरुबिचको बेमेल त कुम्भभन्दा बढी चर्चित छ । त्यसैले भएको जनशक्ति र नेतृत्व पनि विभाजित हुँदा त्यसले अपेक्षाकृत नतिजा दिन सकिरहेको छैन ।


त्यसमा पनि नेपाल र भारतमा जुन तहमा प्रचारप्रसार हुनुपर्थ्यो, त्यो हुन सकेन । पर्यटकहरुलाई राख्ने, अल्मल्याउने र त्यही खर्च गराउने तहको व्यवस्थापन पनि हुन सकेनन् ।


चतरा आएका धेरैभन्दा धेरै मानिसलाई टेन्टमै सही कम्तिमा एक रात चतरामा बस्ने व्यवस्था गर्न सकेको भए त्यसले त्यहाँका पर्यटन प्रबद्र्धन र आर्थिक विकासमा नयाँ सुरुवात हुन सक्थ्यो । उनीहरूको लागि यही पूर्वभरीका परिकार र स्थानीय उत्पादन उपलब्ध गराउन सकेको भए त्यसको सन्देश भव्य जान्थ्यो ।


अघिल्लो वर्ष भएको कुम्भमा सवा दुई करोड रुपैया आम्दानी र पौने एक करोड रुपैया खर्च भएको विवरण सार्वजनिक गरियो । तर स्थानीयहरुले नै खर्च विवरण अपारदर्शी भएको भन्दै विरोध जनाए । खर्च उचित नै भएको भएपनि कुम्भले गरेको नाफा न्युन हो । सरकारले गर्ने कमाइको त कुरै छाडौं ।


कुम्भबाट सरकारले कमाउने मेकानिजम बनाएकै छैन । हुन त सुरुवातमा कुम्भबाट फाइदा लिने भन्दा पनि कुम्भलाई स्थापित गर्न आवश्यक भएर पनि हुन सक्छ ।


कुम्भको नाफा चतराकै मन्दिरहरुको विकासमा खर्च हुने र त्यसबाट सरकारको दायित्व केही कम हुने घुमाउरो अर्थमा कुम्भबाट सरकारलाई नाफा भयो भन्न पनि सकिएला, तर हामीले लिन सक्ने जति लाभ लिन सकेका छैनौं ।


खासमा हामी आधारभुत तयारीहरुमै चुकेका छौं । कुम्भको महत्व हामीले स्थापित गराउनै सकेनौं । कुम्भ के हो भन्ने विषयमा प्रचार गर्न सकेनौं । बराहक्षेत्रको महिमा के हो भन्ने विषयमा हामीले बुझाउन सकेनौं ।


नेपालसँग सिमा जोडिएका र चतरा आउन सक्ने भारतका राज्यहरु बिहार, पश्चिम बंगाल, सिक्किम र उत्तरप्रदेशमा मात्रै ५० करोड मानिसको बसोबास छ । तीमध्ये ८० प्रतिशत बढी हिन्दु छन् । ४० करोड मानिसमध्ये एक प्रतिशत मात्रै नेपाल भित्राउन सकेको भए ४० लाख भारतीयको भीड थपिएको भए कुम्भ अझ विशाल हुन्थ्यो । तर त्यहाँसम्म हामी पुग्नै सकेनौं । भारतीय धर्म गुरुहरु आएर कुम्भको महिमा बढ्छ । त्यससँगै भारतीय धार्मिक तीर्थयात्री पनि आए भने कुम्भको अर्थ चक्र मजबुत हुन्छ । हामीलाई महिमा सँगै आर्थिक विकास पनि चाहिएको छ ।


त्यसैले हाम्रो सोँचको दायरा फराकिलो हुनुपर्यो । हामीले गर्ने अभ्यासहरु व्यवस्थित हुनुपर्यो । 


अरु त अरु हामीसँग हाम्रो धार्मिक पर्यटकीय क्षेत्रको पौराणिकता, ऐतिहासिकता नै थाहा छैन । उदाहरण, रामधुनी मन्दिर ।


रामधुनीलाई भगवान रामले वनवास आउँदा बालेको धुनी भनेर प्रचार गरियो । अहिले रामले शिक्षा लिँदा आश्रममा बालेको धुनी भन्ने कुरा आइरहेको छ । पछि फेरी अर्को व्याख्या आउला । मन्दिर परिसरमा अहिले पनि पुजा गरेको अवस्थामा फलामको रिङ देखिन्छ, त्यो शायद कोशी ब्यारेज बन्दाको समयमा चतरादेखि ब्यारेजसम्म चलाइएको रेलको कुनै भाग हुनुपर्छ ।


तर त्यसलाई पनि त्रेता युगका रामसँग जोडेर प्रचार गरिएको छ । जबकी ७ देखि १० हजार वर्ष पुरानो भनिएको त्रेता युगमा फलामको कुनै वस्तु बनाइएको भएपनि घामपानीमा यति लामो समय रहनै सक्दैन । भनिदिदा त जे पनि हुन्छ, भोलि अन्तर्राष्ट्रिय समुदायमा लादा वा विदेशीहरू आउँदा हामी लज्जित हुनु नपरोस् त्यता ध्यान दिनुपर्छ ।


रामायण सर्किटमा रामधुनीलाई जोड्ने र भारतीय पर्यटक भित्राउने सपना बुन्दै गर्दा हामीले रामधुनीलाई त्रेतायुग र भगवान रामसँग जोड्ने कहानी मात्र बनाउने कि त्यससँग सम्बन्धित प्रमाणहरु पनि भेला पार्ने ? त्यसो त भगवान रामकै जन्मभुमी कहाँ हो भन्ने विषयमै ठोस प्रमाण छैन । तर पनि उपलब्ध धार्मिक ग्रन्थहरुको मिहिन अध्ययन र अनुसन्धान गरेर यस्तो विषयमा रामधुनीको बारेमा सप्रमाण दावी गर्न आवश्यक छ ।


दावी गर्नुअघि यसको महत्व, ऐतिहासिकता, पौराणिकता के हो भन्ने विषयमा पत्ता लगाउन र हामीले बुझ्न जरुरी छ । हामी आफ्नै ठाउँको खोज गर्न र पुरातात्विक प्रमाण अनि आधार जुटाउन सकिरहेका छैनौं भने विश्वलाई कसरी बुझाउने र आकर्षित गर्ने ? बराहक्षेत्रको महिमा पनि उजागर गरेर प्रचार गर्न सक्ने हो भने त्यसले हामीलाई बेफाइदा गर्दैन, अझ धेरै तीर्थयात्री आकर्षित गर्छ । आजको सूचना प्रविधिको जमानामा प्रचार प्रसार गर्न धेरै खर्च पनि लाग्दैन । 


हामीले हाम्रा धार्मिक स्थल, मेलाहरुको विषयमा आपसमा छलफल गरेर केही हुँदैन । महत्वबारे विश्वलाई बुझाउन आवश्यक छ । आन्तरिक पर्यटनहरुको आगमन कुम्भमा बढिरहेको छ । त्यो राम्रो कुरा हो । त्यसलाई अझ बढाउन सकिन्छ ।


अध्ययन, अनुसन्धान र प्रभावकारी प्रचार प्रसार गर्ने कार्यमा हामी कमजोर छौं । त्यसैले यी आधारभुत क्षमतामा सुधार नभएसम्म हामी कुम्भबाट बढी आशा नगरौं । यदि आशा गर्ने हो भने योजनाबद्ध काम गरौं र अनुसन्धान र प्रभावकारी प्रचारमा लगानी गरौं ।

*सच्याइएको