७७ प्रतिशत उम्मेदवारले अझै बुझाएनन् खर्च विवरण

न्युजलय २७ असार २०७९, सोमबार ०१:५३ मा प्रकाशित

काठमाडौं । निर्वाचन परिणाम सार्वजनिक भएको एक महिना बितिसक्दा पनि तनहुँमा ७७ प्रतिशत उम्मेदवारले खर्च विवरण बुझाउन अटेर गरेका छन् । स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भएको एक महिनाभित्र खर्च विवरण बुझाउनुपर्ने कानुनी प्रावधान रहे पनि जिल्लामा ७७ प्रतिशत उम्मेदवारले खर्च विवरण नबुझाएका हुन् ।


दश स्थानीय तहमा एक हजार ६३६ उम्मेदवार रहेकामा ३७२ जनाले मात्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार एक हजार २६४ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् ।


निर्वाचन आयोगले असार मसान्तभित्र विवरण पठाउन निर्देशन दिएको छ ।  


नगरप्रमुख, उपप्रमुख पदका उम्मेदवारले चार लाख ५० हजार, वडाध्यक्षले दुई लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारले तीन लाख ५० हजार र अन्यले एक लाख ५० हजारसम्म खर्च गर्न पाइने आयोगले व्यवस्था गरेको थियो ।


स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा (२), स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने हुन्छ ।