झापाको आस्था कलेज बन्यो इ प्लानेट राष्ट्रिय उच्चमावि प्रतियोगिताको कोसी च्याम्पियन

न्युजलय १७ पुस २०८१, बुधबार ०८:४० मा प्रकाशित

सुनसरी । इ प्लानेट एजुकेसन कन्सल्टेन्सीले आयोजना गरेको राष्ट्रिय उच्च मावि क्रिकेट च्याम्पियनसिपअन्तर्गत दमकको आस्था कलेज कोशी च्याम्पियन बनेको छ । इटहरीको सुष्मा गोदावरी कलेजलाई सात विकेटले पराजित गर्दै आस्था कलेज च्याम्पियन बनेको हो । 


उपाधिसँगै आस्थाले ५० हजार रुपैयाँ पाएको छ । यस्तै सातै प्रदेशका उत्कृष्ठ टिमसँग माघ २३ गतेदेखि काठमाडौमा हुने प्रतियोगिता खेल्ने अवसरसमेत पाएको छ । 


मङ्गलवार भएको फाइनलमा सुष्माले दिएको ६३ रनको विजयी लक्ष्य पछ्याएको आस्थाले ५ दशमलव ४ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । आस्थाको लागि भूपाल दंगालले सर्वाधिक ३२ र सौजन घिमिरेले १४ रन बनाए । सुष्माका नजिर आलमले २ विकेट लिए । 


त्यसअघि टस जितेर ब्याटिङ गरेको सुष्माले निर्धारित १० ओभरको खेलमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । सुष्माको लागि नजिरले सर्वाधिक २० र अन्जुल मेहेताले १६ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । आस्थाका सौजनले ३ विकेट लिए । उनी म्यान अफ द फाइनल घोषित भए ।  


आस्थाका टिम क्याप्टेनलाई इ प्लानेट एजुकेसन कन्सल्टेन्सीको इटहरीस्थित प्रादेशिक कार्यालयले एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बेसडर घोषित गरेको छ । संस्थाका सञ्चालक तथा प्रदेश प्रमुख सुर्य चौलागाईले मासिक सहयोग रकमसहित ब्राण्ड एम्बेसडर बनाएको घोषणा गरे । यस्तै उनले क्रिकेटको विकासको लागि आफूहरुले आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको जानकारी दिए ।


दुई दिनसम्म चलेको प्रतियोगितामा कोसी प्रदेशका विभिन्न जिल्लाबाट छनौट भएर आएका ६ वटा कलेजहरुको सहभागिता रहेको थियो । हाइपयेती इभेन्ट्सले प्रतियोगिताको व्यवस्थापन गरेको हो ।