दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु

न्युजलय १४ पुस २०८१, आइतबार ११:४१ मा प्रकाशित

काठमाडौँ । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् ।दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए ।

उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ । उनीहरुबाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले जनाएको छ ।

थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए ।

विमान दुर्घटनाको कारण खुलिसकेको छैन । तर विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो । विमान दक्षिण कोरियाको जेओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो ।