एमाजनले २० हजार कर्मचारी निकाल्ने

न्युजलय २० मङ्सिर २०७९, मङ्गलबार ०१:४१ मा प्रकाशित

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो ई–कमर्स व्यवसायको रुपमा परिचित अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनले २० हजार कर्मचारीलाई कामबाट निकाल्ने भएको छ । आगामी महिनाहरुमा कम्पनीले कयौं विभागहरुबाट सो संख्यामा कर्मचारी कटौती गर्न लागेको हो । 

 

केहि समयअघि १० हजार मात्रै कर्मचारी कटौती गर्ने भनेको यस कम्पनीले हाल भने खर्च घटाउनको लागि २० हजार कर्मचारी कटौती गर्ने निर्णय गरेको हो । यसमा कम्पनीमा कार्यरत ग्रेड १ देखि ७ सम्मका कर्मचारी प्रभावित हुने बताइएको छ । केही समय अगाडि न्यूयोर्क टाइम्सले भने कम्पनीले १० हजार कर्मचारीलाई कामबाट निकाल्न सक्ने बताएको थियो ।


एमाजन कम्पनीका संस्थापक जोसेफ बेजोस हुन् । पछिल्लो समय कम्पनीको आम्दानी र मुनाफा घटिरहेकै समयमा खर्च कटौतीका लागि कम्पनी कर्मचारी निकाल्न थालेको स्रोतको भनाइ छ । कर्मचारी कटौतीका लागि भनेर विभाग वा ठाउँ तोकिएको छैन । सबै व्यवसाय र विभागमा कटौती हुने स्रोतले बताएको छ । कम्पनीले कोरोना भाइरसको महामारीको समयमा अनलाइन शपिङको माग बढ्दा ठूलो संख्यामा कर्मचारी थपेको थियो । 


गएको केही दिनमा कम्पनीले व्यवस्थापकहरुलाई कार्य प्रर्दशनमा समस्या देखिएका कर्मचारी पहिचान गर्न भनेको छ । २० हजार कर्मचारी भनेको विश्वभर एमाजनमा कार्यरत कर्मचारीको १ दशमलव ३ प्रतिशत हुनेछ । विश्वभर अस्थायी कर्मचारी समेत गर्दा एमाजनमा १५ लाख कर्मचारी कार्यरत् छन् । कम्पनीले जागिरबाट निकाल्ने कर्मचारीहरुलाई २४ घन्टे नोटिस दिएर जागिर बाट निकाले बापतको थप भुक्तानी पनि दिनेछ । यो कम्पनीको इतिहासको अहिलेसम्मकै ठूलो कटौती हुने बताइएको छ । 


एमाजनका सीईओ एन्डी जेसीले नोभेम्बर १७ मै कर्मचारी कटौतीको पूष्टि गर्दै कर्मचारीहरुलाई पत्र पठाएका थिए । यद्यपि, कति कर्मचारीले जागिर गुमाउनेछन् भन्ने चाँहि उनले खुलाएका थिएनन् । अहिले अमेरिकी अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको अनि गएको वर्ष ठूलो संख्यामा कर्मचारी थपेकोले यस वर्ष कर्मचारीको कार्य सम्पादनको समीक्षा थप कठिन भएको जेसीले पत्रमा भनेका छन् ।