२०७८ साल मङ्सिर १३ गते सोमबार

तीन महीनामै २१ अर्बको सुनचाँदी भित्रियो

न्युजलय ३० कार्तिक २०७८, मङ्गलबार ०८:४० मा प्रकाशित
काठमाडौं । कोरोना कहर मत्थर भएसँगै देशमा विलासी वस्तु सुनचाँदीको आयात चुलिएको छ।

चालू आर्थिक वर्षको पहिलो तीन महीना (असोजसम्म)मै देशमा रु.२१ अर्ब १० करोड मूल्य बराबरको सुनचाँदी आयात भएको तथ्याङ्क नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको छ। यो गत वर्षको तुलनामा १७ गुणा धेरै हो। गत वर्ष असोजसम्म रु.१ अर्ब २४ करोडको मात्रै सुनचाँदी आयात भएको थियो।

नेपाल राष्ट्र ब्यांकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार, असोजसम्म रु.११ अर्ब १२ करोड ६५ लाखको सुन आयात भएको छ। गत आर्थिक वर्ष २०७७र७८ को पहिलो तीन महीनामा जम्मा ७४ करोड ८५ लाखको मात्र सुन आयात भएको थियो।

सुनभन्दा पनि चाँदीको आयात झन् उच्च गतिमा बढेको तथ्याङ्कले देखाउँछ। असोजसम्म रु.९ अर्ब ९७ करोड मूल्य बराबरको चाँदी आयात भएको छ। यो गत आर्थिक वर्ष २०७७र७८ मा आयात भएको चाँदीको तुलनामा पनि धेरै हो। गत आर्थिक वर्षमा रु.८ अर्ब ५९ करोड मूल्य बराबरको चाँदी आयात भएको थियो।

सुन र चाँदीले देशको कुल आयात हुने वस्तुमा क्रमशः २.३ र २.१ प्रतिशत हिस्सा ओगट्छन्। नेपाल सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले कोरोना महामारीको वेला घटेको सुनको आयात अहिले बढेकाले एकै पटक ठूलो परिमाणमा आयात भए जस्तो देखिएको बताए। 

शाक्यले चाँदी भारततर्फ तस्करी हुने गरेकाले आयात बढेको अनुमान गरे। खासगरी, भारतीय रुपैयाँको अभावका कारण लेनदेनमा प्रयोग गर्न नेपाल हुँदै भारत तस्करी भएको हुनसक्ने उनको भनाइ छ।