विराटनगर । तीन दिनदेखि हराएर बेपत्ता बनेका एक किशोरको शव फेला परेको छ।
मोरङको बुढीगंगा गाउँपालिका ५ हात्तीमुडा लिची बगैँचा टोलका १४ वर्षीय निश्चल राय तीन दिनदेखि हराएका थिए। उनको शव बुधबार(आज) बिहान सिंघिया खोलामा मृत अवस्थामा फेला परेको हो।
नेकपा माओवादी केन्द्रका नेता उपेन्द्र रायको छोरा निश्चल कार्तिक २२ गते करिब ३ बजेतिर हराएका थिए। तीन दिनदेखि हराएको निश्चल शव घरदेखि करिब एक किलोमिटर पूर्वमा रहेको सिंघिया खोला छेउमा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
किशोरको शव कपडा खोलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शव फेला परेपश्चात् घटनाको अनुसन्धान सुरु भएको जनाइएको छ ।
घटना रहस्यमय रहेको भन्दै मृतकको परिवारले घटनाको अनुसन्धान गरि दोषीलाई कारबाही गरिनुपर्ने माग राखेका छन्।
छोरा हराएको लिखित उजुरी दिएर प्रहरीलाई जानकारी गराउँदासमेत प्रहरीले खोजतलासमा बेवास्ता गरेका कारण यस्तो घटना भएको मृतकका परिवारको आरोप छ।