एसिया कप खेल्न सन्दीप आज पाकिस्तान जाँदै

न्युजलय ११ भदौ २०८०, सोमबार ०१:१६ मा प्रकाशित

 काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने एसिया कप खेल्न आज पाकिस्तान जाँदैछन् ।  

एक किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका सन्दीपको यसअघि एसिया कप खेल्न जाने वा नजाने अन्योल थियो ।

तर, आइतबार जिल्ला अदालत काठमाडौंमा उनीविरुद्धको मुद्दाको पेसी हेर्न नभ्याइनेमा राखेपछि र अर्को पेसी २१ भदौलाई तोकेपछि सन्दीपले एसिया कप खेल्ने निश्चित भएको हो ।  

मुद्दाको दबाबका कारण एसिया कप नखेल्ने मनस्थिति बनाएका उनी नेपाली समर्थकको चाहना र आग्रह तथा टिमको आवश्यकतालाई मध्यनजर गर्दै एसियाकप खेल्न पाकिस्तान जान लागेका बुझ्न सकिन्छ ।  

यही १३ भदौ बाट सुरु हुने एसिया कपमा नेपालले उद्‍घाटन खेलमै पाकिस्तानको सामना गर्नेछ । यस्तै, नेपालले १८ भदौमा भारतको सामना गर्ने तालिका छ । नेपाल र भारतबीचको खेल श्रीलंकाको क्यान्डीमा हुनेछ ।  

नेपाल, पाकिस्तान र भारत समूह ‘ए’ तथा श्रीलंका बंगलादेश र अफगानिस्तान समूह ‘बी’ मा रहेका छन् ।