नमुना ब्लास्टरले जित्यो कोशी प्रिमियर लिगको उपाधि

न्युजलय १७ फाल्गुण २०८१, शनिवार ०९:१० मा प्रकाशित

इटहरी । नमुना कलेजका खेलाडीहरुसहितको नमुना ब्लास्टरले कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनलमा भोक्राहा नरसिंह अर्नाजलाई ३७ रनले पराजित गर्दै नमुना ब्लास्टर च्यम्पियन बनेको हो ।


अर्नाजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नमुनाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०७ बनाएको थियो । यो प्रतियोगिताकै उच्च स्कोर हो । यो स्कोरका लागि दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको आक्रामक अर्धशतकीय इनिङ खेले । दीपेन्द्रले ७८ रन बनाए । कुशलले ५३ रन बनाए । 


कुशल मल्लले ४३ रन बनाए । 


सन्दीप ढुंगानाले ३ र भुवन कार्कीले २ विकेट लिएका थिए ।


२०८ रनको लक्ष्य पछ्याएको अर्नाजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७१ रन मात्र बनाउन सक्यो । उसका लागि सुजन थपलियाले ३३ र रोहन शाहले ३० रन बनाए । नमुनाका इशान पाण्डेले ३ र कुशल मल्लले २ विकेट लिए । 


उपाधिसँगै नमुना ब्लास्टरले ५ लाख ५ हजार र उपविजेता भोक्राहाले ३ लाख ३ हजार पुरस्कार प्राप्त गरेका छन् । 


प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी अर्नाजका सन्दीप ढुंगानाले २५ हजार रुपैयाँ पाए । भुवन थापा उदीयमान खेलाडी घोषित भए ।